एसिया कपको उपाधि जेन्टा र इकातेरिनालाई



काठमाडौं ।

नेपाल ट्रायथलन संघको आयोजनामा पोखरामा भएको एसिया ट्रायाथलन कपको उपाधि पुरुषतर्फ जापानका जेन्टा युचिदा र महिलातर्फ कजाकस्तानकी इकातेरिना सावालिनाले उचालेका छन् ।

७५० मिटर पौडी, २० साइक्लिङ्ग र ५ किमी दौडको दूरी जेन्टाले ५३ मिनेट १४ सेकेन्ड तथा इकातेरिनाले १ घन्टा ०२ मिनेट २० सेकेन्डमा पूरा गर्दै उपाधि उचालेका हुन् । पुरुषतर्फ दोश्रो स्थानमा जापानकै क्योतारो ओसिकावा र तेश्रो स्थानमा अष्ट्रियाका लिओन पगर रहे । क्योतारोले उक्त दूरी ५३ मिनट २२ सेकेन्डमा र लिओनले ५३ मिनट ३६ सेकेन्डमा पूरा गरे ।
जापानको टीएनटी टीभी र टीभीएस अपाचेको प्रायोजन रहेको प्रतियोगिताको महिलातर्फ जापानकी हिराकु फुकुओकाले १ घन्टा २ मिनट ५३ सेकेन्डका साथ दोश्रो र कजाकस्तानकी नादेज्दा बेक्मागनबेताभाले १ घन्टा ४ मिनट १४ सेकेन्डका साथ तेश्रो भइन् ।

शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरूले मेडल, ट्रफी, प्रमाण पत्रका साथै नगद ६३० डलर, ५२५ डलर र ४२० डलर प्राप्त गरे । यस्तै, चौथोले ३१५ डलर र पाँचौंले २१० डलर प्राप्त गरे ।

सोही क्रममा भएको दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपको उपाधि भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले प्राप्त गरेका छन् । आदर्शले ५९ मिनट १० सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितेका हुन् । यस्तै, पहिलो संस्करणकी विजेता प्रग्न्याले १ घन्टा ६ मिनट २२ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितेकी हुन् । उनले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनेटले सुधार गरेकी हुन् ।

भारतीय खेलाडीहरूको दबदबा रहेको स्पर्धामा राहुल धनजी सिन्धेले ५९ मिनेट ४२ सेकेन्डका साथ रजत र विश्वनाथ यादवले ५९ मिनट ४३ सेकेन्डका साथ कांस्य पदक पाए । यस्तै, महिलातर्फ मानषी मोइतेले १ घन्टा ८ मिनेट १८ सेकेन्डका साथ रजत र सञ्जना जोशीले १ घन्टा १० मिनेट ८ सेकेन्डका साथ कास्य पाइन् ।

राष्ट्रियमा वसन्त र सोनीले स्वर्ण जिते
राष्ट्रियतर्फको प्रतिस्पर्धामा सेनाका वसन्त थारू र एपीएफकी सोनी गुरुङ्गले स्वर्ण हात पारे । थारूले १ घन्टा ३ मिनेट २ सेकेन्डमा दूरी पूरा गरे भने सोनीले १ घन्टा ११ मिनेट १७ सेकेन्डमा दूरी पूरा गरिन् ।

दोश्रो स्थानमा रहेका दीपेश चौधरीले १ घन्टा ५ मिनेट ६ सेकेन्ड र तेश्रो स्थानमा रहेका मुकेश थारूले १ घन्टा ७ मिनेट ५५ सेकेन्डमा दूरी पूरा गरे । यस्तै, महिलातर्फ केशरी थापा मगरले १ घन्टा २१ मिनेट २ सेकेन्डका साथ रजत र स्वस्तिका भण्डारीले १ घन्टा ३२ मिनेट ११ सेकेन्डका साथ कांस्य पाए ।

प्रतियोगितामा जापान, अस्ट्रिया, पोल्यान्ड, कजाकस्तान, भारत, बंगलादेश र नेपाल गरी ७ राष्ट्रका पुरुषतर्फ ३७ र महिलातर्फ २० गरी ५७ खेलाडीहरूले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्