नेपाल टी २० सिरिजको फाइनलमा



काठमाडौं ।

नेपाली क्रिकेट टिम त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी २० आई सिरिजको फाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले हराएको हो । यो लगालग तेस्रो जितसँगै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा फास्ट बलर करण केसीले इतिहास रचे ।

करणले ह्याट्रिक गर्नुका साथै खेलमा ५ विकेट लिएर इतिहास रचेका हुन् । टी २० आईमा ५ विकेट लिनेमा करण नेपालका पहिलो बलर बनेका हुन् । यसैगरी, यसै फरम्याटमा ह्याट्रिक गर्ने उनी नेपालका दोस्रो बलर हुन् । नेपालले पहिलो ब्याटिङ गर्द २ सय ३ रनको विशाल योगफल बनाएको थियो । जवाफमा पाहुना टिम पपुवा न्युगिनी १ सय ६६ रनमा अलआउट भएको थियो । करणले दबाबमा रहेको पपुवा न्युगिनीको अन्तिम ओभरमा ह्याट्रिक गर्न सफल भएका थिए ।

करणले उक्त ओभरको दोस्रो बलमा चाद सोपारलाई २ रनमा आउट गरे । उनले तेस्रो बलमा विकेटकिपर शिमोन आतीलाई बोल्ड गरे । उनले चौथो बलमा नैसान पोकनालाई क्याच आउट गराएपछि ह्याट्रिक पूरा गरे । नेपालको तर्फबाट यसअघि शक्ति गौचनले ह्याट्रिक गरेका थिए । शक्तिले सन् २०१२ मा टी २० विश्वकप छनोटअन्तर्गत ग्लोबल छनोटमा डेनमार्कविरुद्ध ह्याट्रिक गरेका थिए ।

करण नेपालको तर्फबाट टी २० फरम्याटमा ५० विकेट लिने दोस्रो बलर पनि बने । उनले पहिलो ओभरा लेगा सियाकालाई आउट गर्दै ५० विकेट पूरा गरेका थिए । टी २० मा ५० विकेट पूरा गर्ने पहिलो नेपाली बलर सन्दीप लामिछाने हुन् । नेपाली बलरमा करणले ५ विकेट लिन २१ रन खर्चेका थिए । यस्तै अभिनाश बोहराले ३४ रन दिएर २ विकेट लिए भने यति नै विकेट लिन सोमपाल कामीले ३४ रन खर्चेका थिए । कप्तान सन्दीपले भने १ विकेट मात्रै हात पारेका थिए ।

नेपालको विस्फोटक ब्याटिङ
नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शानदार ६६ रन बनाए । उनले मात्र ३३ बलको सामना गर्दै विस्फोटक ब्याटिङ गरे । उनको ब्याटिङमा ४ छक्का र ३ चौका सामेल थिए । उनको यो टी २० करियरमा चाथो अन्तर्राष्ट्रिय अर्धशतक पनि हो ।

यस्तै पहिलो पटक टी २० आई खेल खेलेका आदिल अन्सारीले पनि दीपेन्द्रकै अनुसरण गर्दै आक्रमक ब्याटिङ गरे । उनले ११ बलमा ३३ रन बनाएका थिए । उनको ब्याटिङमा ३ छक्का र १ चौका सामेल थिए । दीपेन्द्र र आदिलले चौथो विकेटका लागि ७६ रनको साझेदारी समेत गरे ।

यसैगरी, रोहित पौडेलले पनि आक्रमक ब्याटिङको नमुना पेश गरे । उनले २३ बलमा ४ चौका र ३ छक्कासहित ४१ रन बनाएका थिए । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि राम्रो शुरुवात दिलाएका थिए । उनीहरूले ६.२ ओभरमा ४४ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्