पोर्चुगल र पोल्यान्ड विश्वकपमा छनोट



लन्डन ।

फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफमा जित निकाल्दै पोर्चुगल र पोल्याण्डले कतार विश्वकपमा छनोट हुन सफल भएका छन् । मंगलबार राति भएको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो । टिमको जितमा दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । पोर्चुगलले फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो । खेलको ३२ औं मिनेटमा उनले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरेका थिए । रोनाल्डो र फर्नान्डेसले एक आपसमा तालमेल मिलाउँदै गोल गरेका थिए ।

दोस्रो हाफमा ब्रुनोले अग्रता दोब्बर पारे । खेलको ६५औं मिनेटमा डिओगो जोटाको पासलाई सदुपयोग गर्दै ब्रुनोले पोर्चुगललाई विश्वकप नजिक पु¥याएका थिए । जोटाको क्रसमा ब्रुनोको प्रहार गोल भएको थियो ।

प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० ले हराउँदै विश्वकपमा स्थान पक्का ग¥यो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पोल्यान्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको ५०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पोल्यान्डलाई शुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्यान्डको जित पक्का गरे ।

स्वीडेनले दोस्रो हाफको अन्त्यतिर ८०औं मिनेटमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचलाई मैदानमा उतारेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । त्यस्तै, अर्काे प्ले अफको फाइनलमा वेल्सले स्कटल्यान्ड र युक्रेनबीचको विजेतासँग खेल्नेछ । स्कटल्यान्ड र युक्रेनबीचको प्ले अफको सेमिफाइनल स्थगित अवस्थामा छ ।

सेनेगल पनि छनोट
सेनेगल कतारमा हुने फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । मंगलबार राति भएको विश्वकपका लागि अफ्रिकी क्षेत्रको छनोट चरणको खेलमा इजिप्टलाई टाइब्रेकरमा ३–१ ले हराउँदै सेनेगल विश्वकपको लागि छनोट भएको हो । छनोटको फाइनल चरणको प्ले अफको पहिलो लेगमा १–० ले पराजित भएको सेनेगलले दोस्रो लेगमा १–० को जित निकाल्दै छनोट हुने सम्भावना जीवित राखेको थियो ।

दोस्रो लेगमा अफ्रिकाको च्याम्पियन सेनेगलको जितमा बोउलाय डियाले खेलको तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा लम्विएको थियो । रोमाञ्चक बनेको पेनाल्टीमा दुवै टोलीले शुरुवाती दुई प्रहारमा गोल गर्न सकेनन् ।

टाइब्रेकरमा इजिप्टका मोहमद सलाह, जिजो र मुस्तफा मोहमद चुक्दा विश्वकपमा स्थान बनाउनबाट असफल भएको हो । अमर अल सुलायले मात्रै गोल गर्न सफल भए । सेनेगलका इस्माइला सार, एहमाडोउ बाम्वा डिइङ र साडियो मानेले गोल गरे । कलिडोउ कोउलीवेली र सलिउ सिसले गोल गर्न सकेनन् ।

फिफा विश्वकप कतारका लागि अफ्रिका महादेशबाट सेनेगलसँगै घाना, क्यामरुन, मोरोक्को र ट्युनिसिया छनोट भएका छन् । घानाले नाइजेरियालाई अवे गोलमा पछि पार्दै विश्वकपमा स्थान बनाउन सफल भयो । यी दुई टोलीले पहिलो लेगमा गोलरहित बराबरी खेल्दा दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेका थिए ।

क्यामरुनले अल्जेरियालाई अवे गोलमै पछि पार्दै विश्वकपमा स्थान बनाउन सफल भयो । पहिलो लेगमा अल्जेरियाले १–० का जित निकालेपनि दोस्रो लेगमा क्यामरुनले अतिरिक्त समयमा २–१ को जित तथा समग्रमा २–२ गोलको बराबरी भएपछि अवे गोलमा अघि बढ्यो । मोरोक्कोले डिआर कंगोलाई समग्रमा ५–२ ले तथा ट्युनिसियाले मालीलाई समग्रमा १–० ले हराएर विश्वकपमा स्थान पक्का गरेको छ ।

ब्राजिलले जित्दा अर्जेन्टिना रोकियो
फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको ब्राजिलले सानदार जित निकाल्दा अपराजित नै रहेको अर्जेन्टिना बराबरीमा रोकिएको छ ।ब्राजिलले बोलिभियालाई उसैको घरेलु मैदानमा ४–० गोलअन्तरले हराउँदा अर्जेन्टिना भने इक्वेडोरसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बुधबार बिहान भएको खेलमा ब्राजिलको जितमा रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले समान एक गोल गरे । ब्राजिलले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्न सफल भयो ।

खेलको २४औं मिनेटमा पाक्वेटाको गोलबाट ब्राजिलले सुरुवाती अग्रता बनायो । उनले ब्रुनो गुइमारेसको पासमा गोल गर्न सफल भए । ४५औं मिनेटमा रिचार्लीसनले एन्टोनीको पासमा गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । खेलको ६६औं मिनेटमा पाक्वेटाको पासमा गुइमारेसले गोल गरेपछि ब्राजिल खेलमा ३–० ले अघि बढ्यो ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रिचार्लीसनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै ब्राजिलको जित पक्का गरे । यो जितसँगै शीर्षस्थानमा रहेको अपराजित ब्राजिलको १७ खेलबाट ४५ अंक पुगेको छ । पराजित बोलिभिया १८ खेलबाट १५ अंक जोडेर नवौं स्थानमा रह्यो ।

छनोटकै अर्काे खेलमा अर्जेन्टिनाले शुरुवाती अग्रता जोगाउन नसक्दा इक्वेडरसँग १–१ गोलको बराबरीमा रोकिएको हो । अर्जेन्टिनाका लागि २४औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दा इनर भ्यालेन्सियाले बराबरी गोल फर्काए । यो बराबरीसँगै अपराजित अर्जेन्टिना १७ खेलबाट ३९ अंक जोडेर दोस्रो स्थानमा यथावत् रहेको छ । अर्जेन्टिनालाई बराबरीमा रोकेको इक्वेडर छनोटमा शीर्ष चारमा रहेर विश्वकपमा स्थान बनाउन सफल भएको छ । इक्वेडरले १८ खेलबाट २६ अंक जोड्दै छनोटमा चौथो स्थान कायम गरेको छ ।

त्यस्तै, छनोटको आफ्नो अन्तिम खेलमा जित निकाले पनि कोलम्बिया विश्वकप छनोटबाटै बाहिरिएको छ । छनोटको अन्तिम खेलमा भेनेजुएलालाई १–० ले हराए पनि कोलम्बिया विश्वकपमा छनोट हुन नसकेको हो । कोलम्वियालाई विश्वकपमा छनोट हुनाका लागि अनिवार्य जित र पेरुले हार भोग्नुपर्ने समीकरण बनेको थियो । तर, पेरुले जित निकालेपछि कोलम्विया बाहिरिन पुगेको हो । कोलम्बियाले यसअघिको दुई संस्करणको विश्वकप खेल्दा त्यसअघिको तीन संस्करणमा पनि छनोट हुन सकेको थिएन ।

जितपछि कोलम्बिया छनोटमा १८ खेलबाट २३ अंक जोडेर छैटौं स्थानमा रह्यो । कोलम्बियालाई पछि पारेको पेरुले २४ अंक बटुल्यो । पराजित भेनेजुएला १० अंक जोडेर पुछारमा रह्यो । दक्षिण अमेरिकी छनोटकै अर्को खेलमा पेरुले पाराग्वेमाथि २–० को जित निकाल्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । पेरुको जितमा जियानलुका लापाडुला र योसिमार योटनले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

पेरुले अब विश्वकपमा स्थान बनाउन प्ले अफमा एसियाली अष्ट्रेलियासँग खेल्नुपर्नेछ । छनोटमा पेरुले १८ खेलबाट २४ अंक बटुल्यो । पराजित पाराग्वेले १६ अंक जोड्यो । त्यस्तै, यसपटकको विश्वकपमा चिली पनि देखिने छैन । दक्षिण अमेरिकी छनोटमा चिली सातौं स्थानमा रह्यो । दक्षिण अमेरिकाबाट छनोटमा शीर्ष चारमा रहने टोलीले विश्वकपमा सिधै छनोट हुने प्रावधान छ । पाँचौ हुने टोलीले प्ले अफ खेल्नुपर्नेछ । दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना उरुग्वे र इक्वेडरले सीधै विश्वकपमा स्थान बनाउँदा पेरुले प्ले अफ खेल्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्