सशस्त्र प्रहरीद्वारा सीमा नाकामा उच्च निगरानी



लहान ।

सशस्त्र प्रहरी बल सिरहाले भारतसँग सीमा जोडिएका सिरहाका सबै नाकामा उच्च निगरानी बढाएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै  सिरहाका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल नं. ७ गण सिरहाका गणपति  सशस्त्र प्रहरी उपरीक्षक रमेश कुमार थापा बताउनुभयो । उहाँले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताउनुभयो ।

‘मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ’ गणका सूचना अधिकारी  एवम् सशस्त्र प्रहरी डिएसपी  निलकमल  आचार्याले  भन्नुभयो, ‘सीमित स्रोतसाधन र जनशक्तिलाई पूर्ण रूपमा सदुपयोग गरी सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।’  सो गणअन्तर्गत जिल्लामा पाँच  सुरक्षा बेस क्याम्प, ७ सीमा सुरक्षा पोस्ट (बिओपी ) र तीन वटा सीमा निगरानी पोस्ट (एफओवी) रहेका छन् ।

सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा हातहतियार ओसारपसार नियन्त्रण गर्ने मुख्य योजना रहेको एसपी थापाको भनाइ छ ।

सशस्त्र प्रहरीद्वारा ११ लाख रकम बरामद
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी स्कुवा टिम र सिरहा   ७  नं. गणका   सशस्त्र प्रहरी बलका  एसपी रमेश थापाको टोलिले   विशेष सूचना को आधारमा सिरहाको भगवानपुर सीमा ईलाकाबाट खटेको प्रहरी टोलीले स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।  लहान नगरपालिका १ बाट  नगद १ हजारको नोट ८०३ वटा, ५ सयको नोट  ४ सय वटा त्यसै गरी १ सयको नोट ९९९ वटा,   ५० को नोट ३ वटा गरी जम्मा ११ लाख तीन हजार ५० रुपैयाँसहित भगवानपुर गाउँपलिका जमुवाटोल बस्ने ४४ बर्सिया दिलीप साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनलाई कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाएको छ र थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल गण नं. ७ हेक्वा सिरहाका एसपी रमेश थापाले जनकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्