बालबालिका, गर्भवती र दीर्घरोगीलाई इनर्जी ड्रिंक्स नपिउन आग्रह


काठमाडौँ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको विभागले बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई इनर्जी ड्रिंक्स सेवन नगर्न आग्रह गरेको छ। विभागले इनर्जी ड्रिंक्सको सुरक्षित उपभोगबारे उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई जानकारी गराउँदै बुधवार यस्तो आग्रह गरेको हो। विभागले सेवन गर्न मिल्ने व्यक्तिलाई समेत दिनमा दुई क्यानभन्दा बढी इनर्जी ड्रिंक्स नपिउन सुझाव दिएको छ।

विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएर इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्रीवितरण गरिरहेका छन्। उत्पादनको लेबलमा उल्लेखित विवरण र प्रयोगशाला विश्लेषण प्रतिवेदनअनुसार नेपालमा उत्पादित इनर्जी ड्रिंक्सको प्रतिक्यानमा १०० मिलिग्राम क्याफिन प्रयोग गरिएको पाइएको छ।

युरोपेली खाद्य सुरक्षा प्राधिकरण (ईएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (यूएसएफडीए) लगायतका संस्थाले स्वस्थ वयस्कका लागि सबै खाद्य तथा पेय पदार्थबाट प्राप्त हुने कुल क्याफिनको मात्रा दैनिक ४०० मिलिग्रामभन्दा बढी नहुने गरी सेवन गर्न सकिने वैज्ञानिक आधार प्रस्तुत गरेका छन्।

विभागका अनुसार नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा प्रयोग गरिएको क्याफिनको मात्रा उक्त दैनिक सीमाको २५ प्रतिशतभन्दा कम भए पनि क्याफिनको कुल मात्रा निर्धारण गर्दा इनर्जी ड्रिंक्ससँगै चिया, कफी तथा अन्य खाद्य र पेय पदार्थबाट प्राप्त हुने क्याफिनलाई समेत ध्यान दिनुपर्ने हुन्छ।

विभागले इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध, मोहीलगायतका पौष्टिक पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न पनि उपभोक्तालाई अनुरोध गरेको छ। त्यस्तै, अन्य पेय पदार्थमा मिसाएर इनर्जी ड्रिंक्स सेवन नगर्न सुझाव दिइएको छ। इनर्जी ड्रिंक्सको सुरक्षित उपभोग सुनिश्चित गर्न उत्पादक तथा बिक्रेतालाई प्रचलित कानुनअनुसार आवश्यक अनुमति लिएर मात्र विज्ञापन तथा प्रचारप्रसार गर्न विभागले आग्रह गरेको छ। उत्पादनको लेबलमा उल्लेख गर्नुपर्ने चेतावनी सन्देश तथा सुरक्षित उपभोगसम्बन्धी जानकारी स्पष्ट रूपमा सम्प्रेषण गर्न पनि निर्देशन दिइएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै विभागले वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा खाद्य पदार्थको गुणस्तरसम्बन्धी जानकारी प्रवाह गर्न सरोकारवालालाई अनुरोध गर्दै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत कार्य गर्ने व्यवसायीलाई कानुनअनुसार कारबाही गरिने जनाएको छ। इनर्जी ड्रिंक्सको सुरक्षित उपभोग, उत्पादनको गुणस्तर र उपभोक्तालाई सही जानकारी उपलब्ध गराउने विषयलाई प्राथमिकता दिँदै विभागले उत्पादक, बिक्रेता र उपभोक्तालाई प्रचलित मापदण्ड तथा निर्देशन पालना गर्न आग्रह गरेको छ।