सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा



काठमाडौं ।

सञ्चारिका समूहको आठौं महाधिवेशन तथा २५औं वार्षिक साधारणसभाले पत्रकार विमला तुम्खेवालाई अध्यक्ष निर्वाचित गरेको छ । उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको उक्त कार्यक्रमको मूल आकर्षण नयाँ पदाधिकारी चयन रहेको थियो । अध्यक्षमा तुम्खेवा, कमला पन्थी र नितु पण्डितको दाबेदारी थियो । शुक्रबार मध्यरातमा घोषित मत परिणामअनुसार उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बाँस्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वशी बस्न्यात विजयी हुनुभएको छ । सदस्यहरूमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्सरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी हुनुभएको छ ।

कार्यक्रमको अर्को आकर्षण पुरस्कार वितरण पनि रहेको थियो । सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुलाई प्राप्त भयो । रूकुमबाट पत्रकारिता गर्दै आएकी पत्रकार हीरा परियारलाई स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७७ प्रदान गरियो । सोही पुरस्कार २०७६ का लागि रौतहट जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार बिना राउतलाई प्रदान गरियो । यस्तै, मनिका विश्वकर्मा र सीतादेवी पोखरेल मिनु सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६ बाट सम्मानित हुनुभयो ।

यस्तै, सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७ बाट पत्रकारद्वय सपना थामी र सृजना खड्का सम्मानित भएका छन् । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, सञ्चारिका समूहका पूर्व अध्यक्ष बविता बस्नेत र निर्मला शर्मा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले मन्तव्य राक्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्