राजनीतिक दलहरू चुनावी अभियानमा



लमजुङ ।

सरकारले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै लमजुङमा राजनीतिक दलहरुको चहलपहल बढ्न थालेको छ । राजनीतिक दलहरुले चुनाव लक्षित विभिन्न गतिविधि गर्दा चहलपहल बढेको हो ।

जिल्लामा रहेका मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले स्थानीय तहको निर्वाचन लक्षित गरेर विभिन्न गतिविधि सञ्चालन गरेका हुन् । प्रायः सबै राजनीतिक दलको अधिवेशन सम्पन्न भएको केही महिना मात्रै भएकाले पनि कार्यकर्ताहरुमा जागरण ल्याउन विविध क्रियाकलाप सञ्चालन गरेको पाइएको छ ।
चुनावी अभियानलाई तीव्रता दिँदै राजनीतिक दलहरुले नगरस्तरीय भेला, वडा भेला र टोल–टोलमा समेत भेला गरेर जनसम्पर्क बढाउन थालेका छन् । पार्टीका भेलाहरुले आगामी स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न उम्मेदार चयनदेखि मतदाता बढाउने विषयलाई प्राथमिकतामा राखेर अघि बढेका छन् ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस लमजुङले जिल्लाका सबै स्थानीय तहमा भातृ संगठनहरुको पुनर्गठन, वडा तथा टोलहरुमा संगठन विस्तारमा लागेका छन् । वडा तथा टोलमा व्यापक छलफल गरी लोकप्रिय उम्मेदारको छनोट लगायतका विषयमा आम कार्यकर्ताको मनोभावना बुझ्ने र जिल्लाका सबै स्थानीय तह र वडामा कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी अभियानमा लागेको नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले बताउनुभयो ।

अभियानका क्रममा पार्टी संगठन बलियो बनाउने गरी विभिन्न भातृ संगठन गठन एवं वडा तथा टोलहरुमा समेत समिति विस्तार गरिएको उहाँको भनाइ छ । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयबमोजिम वर्तमान सरकारले गरेका राम्रा काम र भ्रमका बारेमा राम्रोसँग बुझाउने गरी जनताको बीचमा जान थालेको हो ।

यसै गरी, नेकपा एमाले लमजुङले पनि स्थानिय तह निर्वाचन लक्षित गतिविधिलाई अघि तीव्रता दिएको छ । हाल जिल्लाका पाँचवटा स्थानीय तहमा नेतृत्व गरेको नेकपा एमाले लमजुङले आगामी स्थानीय तह निर्वाचमा जिल्लाका आठवटै पालिकामा नेतृत्व जित्ने गरी तयारीमा जुटेको नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
पार्टीको विधानअनुसार वडा तथा टोलहरुमा समेत पार्टी संगठन विस्तार, जनवर्गीय संगठनहरुको भेला तथा कमिटी गठन प्रक्रियालाई अभियानकै रूपमा अघि बढाइएको उहाँको कथन छ । आगामी स्थानीय तह निर्वाचनमा जनताको मनोभावना बुझ्ने, विकास र निर्माणका कामलाई अघि बढाउन सक्ने नेतृत्व चयनका सन्दर्भमा कार्यकर्ताहरु बीच तल्लो स्तरसम्म छलफल अघि बढाइएको समेत अध्यक्ष अधिकारीले बताउनुभयो ।

स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले पनि गतिविधि शुरु गरेको छ । पार्टीका स्थानीय तहका वडा तथा टोलहरुमा आगामी निर्वाचन लक्षित छलफल तथा भेलाहरु भइरहेको र केही समय लगत्तै जिल्लास्तरीय योजना बनाई थप क्रियाकलाप सञ्चालन गरिने नेकपा माओवादी केन्द्र जिल्ला संयोजक मधु अधिकारीले बताउनुहुन्छ ।
निर्वाचनको मिति घोषणा भएसँगै हाल राजनीतिक दलका कार्यकर्ताहरुमा चुनावी सारगर्मी बढेको छ । आगामी निर्वाचनका सन्दर्भमा जनस्तरमा अधिक उत्साह नभए पनि राजनीतिक दलहरुले भने चहलपहललाई निरन्तर बढवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्