छुरा प्रहारबाट चार जनाको मृत्यु, कैयौँ घाइते



एजेन्सी ।

इजरायलको एक व्यापारिक केन्द्रमा अज्ञात ब्यक्तिले गरेको छुरा प्रहारबाट चार जनाको मृत्यु भएको छ । घटनामा थुप्रै घाइते भएका छन् । इजरायलको दक्षिणी क्षेत्रमा रहेको बेरशेवा शपिङ मलमा गाडीमा आएको आक्रमणकारीको समुहमध्ये एक ब्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा तीन जनाको घटना स्थलमा मृत्यु भएको हो । एक जनाको भने आक्रमणकारीको गाडीले कुल्चेर मृत्यु भएको हो ।

इस्लामिक स्टेट आइएसको समर्थन गरेको आरोपमा जेल सजायँ भोगेर मुक्त भएका ब्यक्तिले आक्रमण गरेको पनि खुलेको छ । छुरा प्रहार गर्ने ब्यक्ति एक बन्दूकधारी प्रत्यक्षदर्शीले चलाएको गोली प्रहारबाट मारिएका छन् । आक्रमणकारी अरब मुलका इजरायली नागरिक मोहम्मद अबुअल कियान भएको अनुसन्धानबाट खुलेको छ । इजरायल भित्र धेरै वर्षपछि यो खालको आक्रमण भएको हो ।

इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले घटनाप्रति खेद प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । आक्रमणपछि आफ्ना आन्तरिक सुरक्षा मन्त्री र प्रहरी प्रमुखसँग छलफल गरेका इजरायली प्रधानमन्त्री नाफ्टाली बेनेटले कथित आक्रमणकारीलाई गोली हान्नेहरूको प्रशंसा गर्दै भन्नुभयो, “उनीहरूले साधन र साहस देखाए र थप घाइते हुनबाट रोके ।”

“हामी आतंककारीहरूविरुद्धको लडाइमा कडा मेहनत गर्नेछौं । हामी उनीहरूका साथै उनीहरूलाई मदत गर्नेहरूलाई पछ्याउनेछौं,” बेनेटले ट्वीटरमार्फत् सम्प्रेषित सन्देशमा भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्