विषादीमुक्त बस्ती बनाउन महिला अग्रसर



तेह्रथुम ।

तेह्रथुमको लालिगुराँस नगरपालिकाको अर्गानिक रणनीतिअनुसार वडा नम्बर ७ फिर्के सुकुम्बासी बस्तीका महिला रासायनिक विषादीमुक्त बस्ती बनाउन लागिपरेका छन् । विषादीले मानव स्वास्थ्यमा नराम्रो असर पार्छ भन्ने थाहा पाएपछि उनीहरु यो अभियानमा लागेका हुन् ।

अबको ५ वर्षभित्रमा रासायनिक विषादीमुक्त बस्ती बनाउने महिलाहरूको उदघोष छ । एक्सनएड नेपाल र दलित सचेतना समाजको सहजीकरणमा स्थानीय अधिकार कार्यक्रममार्फत भएको जैविक विषादी निर्माण सम्वन्धिको तालिम लिए पछि उनिहरुले ५ वर्ष भित्रमा रासायनिक विषादीमुक्त बस्ती बनाई प्राङ्गारिक बस्ती बनाउन उनीहरू लागि परेका हुन् । जसका लागि तीनजुरे महिला समूह गठन गरेर जैविक विषादी र प्राङ्गारिक मल बनाउन थालेको समूहकी सदस्य विमला तामाङले बताउनुभयो ।

रासायनिक विषादी प्रयोग नगर्ने प्रतिबद्धता गरेका उनीहरुले गाउँघरमै पाउने वनस्पति धतुरो, अदुवा, लसुन, बेसार, निमपात, घ्यूकुमारी, सुर्ती, टिमुर, बोजो, तीतेपाती, असुरो, सिस्नु आदिको मिश्रण गरेर जैविक विषादी बनाउने गरेको समूहकी अर्की सदस्य इन्द्रमाया तामाङ बताउनुहुन्छ ।

यस्तो विषादी बनाउन कम खर्च लाग्ने र तिनको प्रयोगबाट हानि नहुने बुझेपछि किसानले जैविक विषादीको प्रयोग बढाएका छन् । बालीनाली र तरकारीमा रासायनिक मलको प्रयोग क्रमशः घट्दै गएको छ । पछिल्लो समय नसर्ने रोगको मुख्य कारणका रूपमा पनि घातक विषादीको प्रयोग भएको भन्ने तथ्य बाहिर आएपछि किसानले पनि जैविक विषादी बनाएर प्रयोग गर्न थालेका हुन् । स्थानीय रक्सी बनाउने प्रविधिबाटै अथवा वास्पीकरण विधिबाट जैविक विषादी बनाउने गरेको सस्थाका कोषाध्यक्ष गीता राईले बताउनुभयो ।

बस्तीका किसानले अहिले अदुवा, अकबरे, बन्दा, आलु, मटर, साग, लसुनलगायतका तरकारी र फलफूल बालीमा जैविक विषादीको प्रयोग गर्न थालेका छन् । त्यसरी बनाएको विषादीले नै बाली नालीमा लाग्ने रोग कीराको निदान गर्ने गरेको स्थानीयवासी हेममाया तामाङ बताउनुहुन्छ ।

तालिम लिइसकेपछि किसानले रासायनिक मल र विषादीको प्रयोगले उर्वर माटोमात्र नभएर प्रयोग र उपभोग गर्ने दुवैलाई गम्भीर समस्या निम्तिने गरेको बुझेपछि जैविक विषादीको प्रयोग गर्न थालेका हुन् । रासायनिक मलको विकल्पमा किसानले कम्पोस्ट र प्राङ्गारिक मल बनाएर प्रयोग गर्न थालेका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्यमा नराम्रो असर गर्ने भएकाले जैविक विषादी र प्राङ्गारिक मलको फाइदाका बारेमा तालिम, सचेतना, क्षमता विकास साथै समुदायमा विषादी बनाउने प्राविधिकलगायतमा सहयोग गरिरहेको दलित सचेतना समाज नेपाल तेह्रथुमका निर्देशक कुमार विशंखेले बताउनुभयो ।
प्रशिक्षार्थी पत्रकार

प्रतिक्रिया दिनुहोस्