पञ्चेश्वरमा भण्डारी सर्वसम्मत



बैतडी ।

अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ । कांग्रेसले जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षका लागि रमेशसिंह भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीको गाउँपालिका कार्यसमितिको बैठकले भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति शिवराज भट्टले बताउनुभयो । ‘पञ्चेश्वरमा सर्वसम्मत उम्मेदवार छानिसकेका छौं, अन्य पालिकामा पनि सर्वसम्मत छान्ने काम भइरहेको छ ।’ –उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसको यातायात समन्वय विभागको केन्द्रीय सदस्य रहनुभएका भण्डारीलाइ अध्यक्षका लागि चुनेसँगै उहाँ चुनावी अभियानमा लागिसक्नुभएको छ । ‘नवीनतम सोचका साथ अगाडि बढेको छु, समृद्ध पञ्चेश्वर बनाउने सपना छ’, उहाँ भन्नुहुन्छ– ‘जनताको साथ पाउनेमा ढुक्क छु ।’ भण्डारी बीपी विचार राष्ट्रिय समाजको जिल्ला सभापतिसमेत रहनुभएको छ ।

अध्यक्ष पदमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको भए पनि अन्य उपाध्यक्ष र वडा अध्यक्षको उम्मेदवारका लागि छलफल जारी रहेको छ । पञ्चेश्वरमा अहिले एमालेको सरकार छ ।

जिल्लाका अन्य स्थानीय तहहरुमा पनि सर्वसम्मत रूपमा उम्मेदवार छान्ने काम भइरहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिनुभयो । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं अभियानसँगै सर्वसम्मत उम्मेदवार छान्ने काम भइरहेको छ ।’ –उहाँले भन्नुभयो । गत स्थानीय तहको निर्वाचनबाट बैतडीका ६ स्थानीय तहमा कांग्रेसको नेतृत्व छ ।

स्थानीय निर्वाचनमा १५ दल सहभागी हुने
अगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ वटा दल सहभागी हुने भएका छन् । निर्वाचनमा सहभागी हुनका लागि जिल्ला निर्वाचन कार्यालयमा १५ दलले निवेदन दिएका हुन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार दल दर्ता गर्ने समयमा जिल्लामा १५ वटा दलले निवेदन दिएका हुन् । जिल्ला निर्वाचन अधिकारी माधव फुयालका अनुसार निवेदन दिएका दलहरु केन्द्रमा दर्ता भएको हुनुपर्नेछ ।

जिल्लामा निवेदन दिने दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र जनसमाजवादी पार्टी नेपाल रहेका छन् ।

यस्तै, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाली कांग्रेस (बीपी), नेपाल परिवार दल र नेपालका लागि नेपाली पार्टीले पनि निर्वाचनका सहभागी हुनका लागि निवेदन दिएका छन् ।

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा बैतडीमा ११ दल सहभागी भएका थिए । स्थानीय तहको निर्वाचन २०७९ साल वैशाख ३० गते हुँदै छ । जसका लागि बैतडीमा १ सय २९ मतदानस्थल निर्धारण गरिएको छ । सो निर्वाचनमा जिल्लाका १ लाख ५० हजार मतदाताले मतदान गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्