राष्ट्रिय परिचयपत्रको काम अब वडाबाटै



बैतडी ।

बैतडीमा राष्ट्रिय परिचयपत्रको काम वडा तहबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण संकलनको काम अब वडा तहबाटै विवरण संकलन गरिने भएको हो ।

दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेबाट शुरू हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । दश स्थानीय तह रहेका बैतडीका चार स्थानीय तहमा पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । पहिलो चरणमा शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका वडामा विवरण संकलनको काम सञ्चालन हुने उहाँले बताउनुभयो । ‘एक पालिकामा कम्तीमा १५ दिनसम्म कार्यक्रम सञ्चालन हुन्छ, प्रत्येक वडामा कर्मचारी खटाएर विवरण संकलन गछौं ।’ –सूचना अधिकारी भारती भन्नुहुन्छ ।

विवरण संकलनका लागि कर्मचारी वडा कार्यालयमै खटाइनेछ । जसका लागि ३५ जना विवरण दर्ता अपरेटर परिचालन हुनेछन् । विवरण संकलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र जारी गर्ने र सो परिचयपत्र वडाबाटै वितरण हुने जनाइएको छ । पहिलो चरणमा चार स्थानीय तहको विवरण संकलन भएपछि त्यसपछि जिल्लाका अन्य स्थानीय तहका वडाहरुमा पनि विवरण संकलनको काम सञ्चालन हुनेछ ।

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुनेछ । राष्ट्रिय परिचय पत्र बहुउपयोगी परिचयपत्र भएकाले आफ्नो नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको आग्रह रहेको छ । २०७७ असोज पहिलो सातादेखि बैतडीमा शुरू भएको राष्ट्रिय परिचयपत्र विवरण संकलनमा हालसम्म ७ हजार बढीको विवरण संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्