काठमाडौं ।
इङ्लिस ब्याटर मोइन अलीको अलराउण्ड प्रदर्शनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पहिलो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले काठमान्डु गोर्खाजलाई आठ विकेटले पराजित गरेको हो।
पहिलो खेलमा कर्णालीसँग पराजित भएको जनकपुरले दोस्रो खेलमा बलिङ र ब्याटिङ दुवैमा सुधार गर्दै जित निकालेको हो। काठमान्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो।
जनकपुरको जितमा मोइन अलीले अविजित ५८ रन बनाए। उनले ५१ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। हसन अलीले पनि अविजित ४० रनको योगदान दिए। उनले २७ बलमा एक चौका र तीन छक्का प्रहार गरे।
मोइन र हसनले तेस्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए। जनकपुरले सुरुआती दुई विकेट भने सस्तैमा गुमाएको थियो। ओपनर तृतराज दास पाँच रनमा आउट भए भने मायन यादव नौ रन बनाएर रनआउट भए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो। काठमान्डुले सुरुदेखि नै विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन।
काठमान्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। रसिद खानले १७ तथा स्मित पटेलले १३ रन जोडे। अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।
जनकपुरका युवा बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। उनले चार ओभरमा ३१ रन खर्चिए। सइफ हसनले दुई विकेट लिए भने मोइन अली, कप्तान हरमित सिंह र ललित राजवंशीले समान एक विकेट हात पारे।
काठमान्डुले नियमित अन्तरालमा विकेट गुमाउँदा टोलीले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेन। जनकपुरले त्यसको फाइदा उठाउँदै सहज जित निकालेको हो।











प्रतिक्रिया