रोकिएन आगलागीको शृङ्खला



ताप्लेजुङ ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा प्रत्येक वर्ष ठूल्ठूला आगलागीका घटना हुने गरेका छन् । आगलागी घटनाबाट ठूलो धन सम्पत्तिको क्षति हुँदै आएको छ भने शुक्रबार भएको आगलागीले मानवीय क्षतिसमेत गराएको छ ।

शुक्रबार बिहान फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा भएको आगलागीमा परी ६७ वर्षीया चुलीमाया चोङ्वाङ लिम्बुको मृत्यु भएको थियो । केही समय अघिदेखि फुङ्लिङ बजारस्थित आफ्नो छोरीसँग बस्दै आउनुभएकी मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु बस्ने लिम्बुको आगलागीमा ज्यान गएको हो । गम्भीर घाइते भएपछि लिम्बुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ९ बजे कोप्चे डाँडालाइनका रविन आङ्बुहाङ लिम्बुको कच्ची घरबाट आगलागी शुरु भएको थियो । आगलागीबाट नजिकै रहेको संगीता मादेन लिम्बुको घरसमेत पूर्णरूपमा नष्ट भएको छ । आङ्बुहाङको अर्को पक्की घरमा भने आंशिक क्षति पुगेको थियो । मृतककी कान्छी छोरी कौशिला लिम्बु आङ्बुहाङको घरमा भाडामा बसेर फुङ्लिङ बजारमा फेन्सी कपडा व्यवसाय गर्दै आउनुभएको छ ।

उक्त आगलागीबाट केही सामान्य घाइते भएका छन् । आगोबाट ज्यान बचाउनलाई भाग्ने र आगो नियन्त्रणमा लिने क्रममा केही स्थानीय घाइते भएका हुन् । आगलागीबाट घरधनी र भाडावाल गरेर आधा दर्जन बढी परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा घरधनी आङ्बुहाङ र मादेनको परिवार छन् भने उक्त दुई घरमा भाडामा बस्ने कुमारी शेर्पा, कौशिला लिम्बु, रेनुका लिम्बु, जङ्ग शेर्पा विस्थापित भएको नेपाल रेडक्रस सोसइटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले बताउनुभयो ।

त्यस्तै, टङ्क अन्छङ्बो, कुमारी तामाङको परिवार र कोठा भाडामा बस्ने एक जना विद्यार्थीसमेत विस्थापित भएका छन् । विस्थापित परिवारलाई नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य संघ ताप्लेजुङले खाद्यान्न, भाँडावर्तन तथा लत्ताकपडा जस्ता सामग्री वितरण गरेको उहाँको भनाइ छ । आगलागीबाट ६९ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको सभापति गुरुङले जनाउनुभयो । आगलागी लापरबाहीले भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

सदरमुकाम फुङ्लिङ बजारमा पटक–पटक हुने आगलागी घटनामा घरधनी र धेरै भाडामा बस्नेहरुले धनसम्पत्ति गुमाउँदै आएका छन् । आगलागीले नगद, सुनचाँदी, व्यापार प्रयोजनका जिन्सी सामग्रीलगायतका पूर्वाधार तथा संरचना जलेर नष्ट हुने हुँदा ठूलो धनसम्पत्ति क्षति हुने गरेको छ । यसअघि तोक्मेबजारको हटिया लाइनमा आगलागी हुँदा एक पुरुषको जलेर मृत्यु भएको थियो ।

फुङ्लिङमा आगलागी
सदरमुकाम फुङ्लिङ बजारमा विगत २०६० सालयता १८ वर्षको अवधिमा पाँच ठूला आगलागी भएका छन् । यस अवधिमा बजारभित्रै स–साना आगलागीका घटना भने धेरै भएका छन् ।

जिल्लास्थित प्रहरी र रेडक्रस सोसाइटीले राखेको तथ्याङ्कअनुसार पहिलोपटक २०६० चैत १५ गते सदरमुकाममा ठूलो आगलागी भएको थियो । सदरमुकामको मुख्यबजार वीरेन्द्रचोकमा आगलागी हुँदा ४४ घर जलेर नष्ट भएका थिए । वीरेन्द्रचोकमा भएको आगलागीबाट १ सय २९ परिवार विस्थापित भएका थिए भने ४१ करोड रुपियाँ बराबरको क्षति भएको थियो । यस्तै, २०६९ माघ २६ गते फुङ्लिङबजारको शेर्पा टोलमा आगलागी हुँदा आठ घर जलेका थिए । उक्त आगलागीबाट १८ परिवार विस्थापित भए भने ८ करोड रुपियाँ बढीको क्षति हुन पुगेको थियो ।

फुङ्लिङ बजारकै टुक्रेलाइनमा २०७० कात्तिक १८ गते भएको आगलागीमा आठ घर पूर्णरूपमा जलेका थिए । सो आगलागीमा १७ परिवार विस्थापित भएका र करिव ५ करोड रुपियाँ बराबरको क्षति भएको थियो । यसै गरी, तोक्मेबजार क्षेत्रमा २०७१ चैत ९ गते भएको भीषण आगलागीमा ३७ घर जलेका थिए । उक्त संख्यामा घर जल्दा घरधनी र डेरावाल गरी १ सय ४५ परिवार विस्थापित भए भने ४० करोड रुपियाँको क्षति हुन पुगेको थियो ।

यस्तै, २०७७ वैशाख १९ गते फुङ्लिङ बजारको पुरानो बैंक लाइनमा आगलागी हुँदा आठ घर जलेको थियो भने ३० परिवार विस्थापित भएका थिए । सो आगलागीबाट ७ करोड ६५ लाख ७२ हजार रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको तथ्याङ्क रहेको छ ।

आगलागी घटना अधिकांश असावधानी र लापरबाहीले हुने गरेका छन् भने केही विद्युत् सर्ट र अन्य कारणबाट हुने गरेको तथ्याङ्कमा उल्लेख छ । बजारमा पुरानो तथा काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएका संरचनाका कारण आगो शुरु भएपछि चाँडै धेरैतिर फैलने तथा धेरै क्षति हुने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्