प्रहरीका ४६ एकाइलाई प्रदेशको भवन



हेटौंडा, (नेस) ।

वागमती प्रदेश सरकारको विनियोजित बजेटबाट आव २०७५/०७६ मा प्रदेशमा पहिलो चरणमा ४६ वटा प्रहरी एकाइको भवन निर्माण थालनी भएकोमा मकवानपुरको बकैया गाउँपालिकाअन्तर्गत ठिंगनमा भवन निर्माण सकिएको छ ।

प्रहरी प्रधान कार्यालयको भौतिक पूर्वाधार निर्देशनालयबाट २ करोड ८१ लाख ३३ हजार ८ सय २३ रुपियाँ लागतमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । हालसम्म ३७ वटा उद्घाटन भएको बताइएको छ । एउटा भवन चैतसम्म र बाँकी ५ वटा वैशाख मसान्तमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–१२ मा रहेको इलाका प्रहरी कार्यालय ठिंगनको नवनिर्मित कार्यालय भवन बुधबार उद्घाटन गरिएको छ । कार्यालय, ब्यारेक तथा भान्साघरको उद्घाटन वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले गर्नुभएको हो । भवन उद्घाटन गर्दै मन्त्री खनालले प्रहरीलाई शान्तिसुरक्षा कायम गर्न सजिलो भएको बताउनुभयो । भवन निर्माणले प्रहरीको मनोबल उच्च भएको बताउँदै उहाँले ठिंगन क्षेत्रको शान्ति सुरक्षामा थप बल पुगेको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको कार्यालय र ब्यारेक भवन आफ्नै २ रोपनी जग्गामा निर्माण गरिएको छ । नवनिर्मित कार्यालय तथा ब्यारेक भवनको भुइँतलामा कार्यालय प्रयोजनका निमित्त ५ वटा कोठा र शौचालय सुविधासहित महिला तथा पुरुष हिरासत कक्ष छन् ।

कान्ति लोकपथअन्तर्गत पर्ने भवन उद्घाटन कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, प्रदेश सरकारका सचिव रुद्रसिंह तामाङ, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरीका एसपी रणबहादुर कार्कीलगायतको आतिथ्यता थियो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान हेटौंडा कार्यालय अनुसन्धान उपनिर्देशक पप्पु शर्मा पौडेल, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्