तनहुँमा महिला बन्दीगृह



तनहुँ ।

तनहुँ कारागारमा महिला बन्दीगृह निर्माणकार्य पूरा भएको छ । महिला बन्दीगृह बनेपछि महिला कैदीबन्दीलाई पोखरालगायत अन्त्र पठाउनुपर्ने बाध्यता हट्ने भएको छ । केही समयमा बन्दीगृह सञ्चालनमा ल्याउने गरी प्रक्रिया अघि बढेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । तनहुँ कारागारभित्र महिला बन्दीगृह सञ्चालनमा आएपछि बाहिर पठाउनुपर्ने बाध्यता हट्नेछ । यसअघि नै महिला बन्दीगृह निर्माण गरिएको भए पनि पुरुष कैदीबन्दी धेरै भएकाले पुरुष कैदीबन्दीलाई राखिएपछि समस्या थियो ।

कारागारको पुरानो कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउन्ड गरी महिला बन्दीगृह निर्माण गरिएको उहाँले बताउनुभयो । कारागारमा नयाँ भवन निर्माण भएपछि पुरानो भवनलाई महिला बन्दीगृह बनाउन लागिएको हो ।

गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत २० लाख रुपियाँ बजेटको काम भए पनि बजेट अपुग भएपछि चालू आर्थिक वर्षमा कारागार व्यवस्थापनअन्तर्गत २० लाख बजेट विनियोजन भई निर्माण गरिएको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिनुभयो । एन्जल कन्स्ट्रक्सनले महिला बन्दीगृह निर्माण गरेको कारागारले जनाएको छ । २० जना क्षमताको महिला बन्दीगृह निर्माणको म्याद निर्माण सम्पन्न भएकाले सञ्चालनमा ल्याइनेछ ।

महिला बन्दीगृह नहुँदा कैद सजाय भुक्तानका लागि पोखरा, बेंसीशहरलगायतका स्थानमा पठाउनुपर्ने अवस्था थियो । ‘कारागार सवारीसाधन नहुँदा महिलालाई बन्दीगृहबाट अदालत लैजान तथा टाढा हुँदा आफन्त तथा परिवारजनलाई भेटघाटका लागि समस्या परेको थियो, अब सहज हुने भएको छ ।’ –जेलर सुवेदीले भन्नुभयो ।

वार्षिक रूपमा १५ जना महिलालाई जिल्लामा महिला बन्दीगृह नहुँदा बाहिर पठाउनुपर्ने बाध्यता थियो । १ सय १५ जना क्षमताको तनहुँ कारागारमा हाल ‘ए’ ब्लकमा १ सय ४५ जना ‘बी’ ब्लकमा १ सय १२ गरी २ सय ५६ जना कैदीबन्दी रहेका कारागारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्