एकीकृत खानेपानीको शिलान्यास



काभ्रे ।

बनेपा नगरपालिका–१३, १४ र बृहत् एकीकृत खानेपानीको शिल्यान्यास भएको छ । बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले उक्त खानेपानीको शिल्यान्यास गर्नुभएको छ ।
प्रमुख बादेले नगरमा विकास निमार्णका काम तीव्र गतिले अघि बढेको बताउनुभयो । पालिकाको प्रत्येक नगरमा ‘एक घर एक धारा’ पुर्याउने लक्ष्यअनुसार काम गरिरहेको उहाँको कथन छ । उक्त खानेपानीको निर्माण सम्पन्नपश्चात् नगरका १३ र १४ वडाका सम्पूर्ण घरधुरीलाई खानेपानी पुग्ने बादे बताउनुहुन्छ ।

वडा नम्बर १ देखि ४ सम्मलाई आन्तरिक स्रोतको व्यवस्थापन गरिएको, ५, ६, ७, ८ र ९ मा काभ्रे एकीकृत भ्यालीको खानेपानीमार्फत वितरण गरिने र १०, ११ मा डिपबोरिङमार्फत पानी वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । वडा नम्बर १२ मा आन्तरिक स्रोतमार्फत वितरण गरी पूरै नगरबासीलाई शुद्ध खानेपानी वितरण गर्न लागिएको प्रमुख वादेले बताउनुभयो ।

उक्त खानेपानीका लागि खानेपानी सेवा नियमन तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत कुल लागत रकम ८० प्रतिशत रकम नेपाल सरकार र २० प्रतिशत उपभोक्ता संस्थाले व्यहोर्नुपर्ने गरी कुल रकम ९ करोड ८४ लाख ६९ हजार ९ सय ८ रुपियाँको लागत इस्टिमेटमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाबाट बनेपा नगरपालिकाको वडा नम्बर १३, १४ का ८ सय ७८ घरधुरीको जम्मा ५ हजार २ सय १२ जना लाभान्वित हुने वडा नम्वर १४ का अध्यक्ष गौरी राउतले बताउनुभयो ।

आयोजनाअन्तर्गत इन्टेक ६ वटा, सेडिमेन्टेसन ट्यांक २ वटा, स्लो स्यान्डफिल्टर, पानी ट्यांकी विभिन्न साइजका १० वटा, पम्पहाउस २ वटा, कलेक्सन ६ वटा पम्पिङ स्टेज १, ट्रान्समिसन पम्पिङ मेन १.१६ किमि, ट्रान्समिसन मेन १०.०१ किमि, वितरण पाइपलाई १६.९८ किमि र जम्मा पाइप लाइन २८.१५ किमि रहेको जनाइएको छ । कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले निर्वाचनमा गरिएका प्रतिबद्धताअनुसार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको पहलमा संघीय सरकारमार्फत र नगरपालिकाको समन्वयमा उक्त आयोजना शुरु गरिएको बताउनुभयो ।

शिल्यान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडा नम्वर १३ का वडाध्यक्ष सूर्यनारायण नापित, १४ का वडाअध्यक्ष गौरी राउत, उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्