होली खेल्ने नाममा विकृति नफैलियोस्



आज काठमाडौं उपत्यकासहित पहाडमा र भोलि मधेस प्रदेशसहित तराईमा होली मनाइन्छ । होली मनाउनको लागि सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ । होली सबैको चाड भए पनि यो एकदमै जोखिमपूर्ण छ । होली मनाउने नाममा विकृति फैलिएको हामीले योभन्दा अघिका वर्षहरुमा देखिसकेका छौँ । चाड मनाउने भन्दै अरुलाई दुःख दिन मिल्दैन नि । होली भन्दै बाटोमा हिँडिरहेका मानिसहरुलाई पानी छ्याप्ने, अबिर हाल्ने कार्य पनि नभएका होइनन् । कतिपय मानिसहरु आपत परेर हिँडेका हुन्छन्, कति आफन्त भेट्न जान खोजेका होलान् । तर, होली खेल्नेहरुले सोच्दै नसोची आफ्नो मनपरि गर्दै आएका छन् । यता, मादक पदार्थ सेवन गर्ने र विनाहेल्मेट मोटरसाइकल चलाउने मान्छे पनि भेटिन्छन् । जसले गर्दा दुर्घटनाको जोखिम निम्तिन्छ । छतमा बसेर पानी छ्याप्दा कतिपय छतबाट चिम्लिन्छन् । त्यसैले होली मनाउँदा निकै सावधानी अपनाउनुपर्छ । पछिल्लो समय आफ्नो रमाइलोको लागि होली मनाउँछन् तर दुःख अरुलाई दिइरहेका हुन्छन् । कसैको इच्छा विपरीत गएर रङ्ग लगाउन पाइँदैन ।

चाड हो रमाइलो गर्नुपर्छ तर त्यो पनि आफ्नो परिवार वा आफन्तसँग । विनाकाम अरुलाई दुःख दिने कामचाहिँ राम्रो होइन । यसमा अभिभावक पनि जिम्मेवार हुनुपर्छ । एउटा साधारण टीका लगाएर पनि होली मनाउन सकिन्छ । होली मनाउनको लागि होहल्ला गर्नै पर्छ, मादक पदार्थ सेवन गर्नै पर्छ, अरुलाई भिजाउनै पर्छ भन्ने होइन । शान्ति रुपले पनि होली खेल्न सकिन्छ । यता, घरको छतमा बसेर पनि होली खेल्नुहुन्न । घरको छतमा बसेर अर्कोको घरमा पानी हाल्ने काममा रोक लगाउनुपर्छ । घरको छतमा बसेर होली खेल्दा निकै जोखिम छ । चाड मनाउँदा, रमाइलो गर्दा, आफू पनि नमरौँ र अरुलाई पनि नमारौँ । थोरै गल्तीले निकै ठूलो दुर्घटना हुन सक्छ । होली पर्वमा भएको विकृति कसरी रोक्ने, शान्तिसुरक्षा कसरी अपनाउने भनेर गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छैन । अरुलाई जबर्जस्ती रंग लगाउने काममा प्रशासनले रोक लगाउनुपर्छ । होली खेलिरहेको बेला कतिपय पुरुषले महिलालाई यौन शोषण गरेका घटना छन् । यस्ता घटना फेरि पनि घट्न नदिन प्रशासनहरु तयार रहनुपर्छ । त्यसै गरी, बाटोमा हिँडिरहेका मानिसलाई माथिबाट पानी खसाल्नेको विरुद्ध उजुरी गर्ने ठाउँको व्यवस्था गर्नुपर्छ ।

आफन्तभित्रै मादक पदार्थ सेवन गर्ने र झैझगडा गर्ने, यहाँबाट पनि एकाएक दुर्घटना निम्तिन्छ । हामी नेपालीको आनाबानी कसैले एक गिलास खानेपानी माग्यो भने हामी दिँदैनौँ तर अरुलाई दुःख दिनको लागि हामीसँग ट्याङकीभरि पानी हुन्छ । अझै पुगेन भने जारको पानीसमेत ल्याएर खन्याउँछौँ । यो पनि मानवता हो ? होलीमा प्रयोग हुने रंग एकदमै मिसावटी र हानिकारक हुन्छ । जसले स्वास्थ्य र वातावरणलाई नै हानि पुग्छ । व्यापारीहरुले महँगो पैसा लिएर पनि मिसावटयुक्त रंगहरु बेचिरहेका छन् । बजारमा जनता ठग्ने कामको पनि शुरुवात भइसकेको छ । अरु बेला दुई सयमा पाउने होली लेखिएको टिसर्टको रेट व्यापारीले पाँच सय पुर्याएका छन् । यता, बच्चाले खेल्ने पिच्कारीहरु पनि महँगोमा बिक्री भइरहेको छ ।

होलीको लागि धेरै प्रयोग हुने भनेको प्लास्टिकका पोकाहरु हुन् । प्लास्टिकका पोकाहरुमा पानी हालेर फाल्ने प्रवृत्तिले सडक पूरै दुर्गन्धित बन्छ । एकातिर सरकारले हप्तौँदेखि फोहोर उठाउन सकेको छैन अर्कोतिर होलीले मच्चाएको तहल्का । सरकारले कहिले उठाइसक्छ ? यसमा पनि हरेक नागरिक जिम्मेवार बनौँ । होली खेल्दा निक्लिएका फोहोरहरु सडकमा ल्याएर फाल्न पाइँदैन । सर्वसाधारण हिँड्ने बाटो फोहोर पार्ने र सास्ती दिने कामको अन्त्य गरौँ । होलीलाई लक्षित गरेर ट्राफिक महाशाखाले मापसे चेकिङ तीव्रता दिनुपर्छ । हेलमेट नलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाही गर्नुपर्यो । यता, सुरक्षाकर्मीहरुको पनि गस्ती बढाउनुपर्छ । यसमा नेपाली जनताले पनि सहयोग गर्नुपर्छ । कुनैले जाँडरक्सी खाएर होहल्ला गर्छ, खैलाबैला मच्चाउँछ भने उसको विरुद्ध नागरिकले नै उजुरी गर्नुपर्छ । होली मनाउने नाममा आफ्नो टोलछिमेकमा कहीँ कतै दुर्घटना नहोस् भनेर सबै नागरिक चनाखो भई बस्नुपर्छ । यस विषयमा सरकारी निकायले पनि कडाइ गर्नुपर्यो । देखासिकी गरेर बढी खर्च गर्नु पनि ठीक होइन । अरुलाई देखाउनका लागि फजुल खर्च गर्नुहुँदैन् । हरेक मानिसले घाँटी हेरेर मात्र हाड निल्नुपर्छ भनेजस्तै आम्दानी अनुसार खर्च गर्ने बानी बसाल्नुपर्छ ।

होलीको नाममा जथाभावी गरिने खर्चको सदुपयोग गरेर बाटोमा माग्नेलाई खानदियो भने धर्म हुन्छ । फजुल खर्च गर्ने रकमले खाद्यान्न खरिद गरेर आश्रममा दियो भने कसैलाई केही दिनसम्म आफ्नो भोक टार्न हुन्छ । नेपालको स्थिति कुनै मान्छे खान नपाएर मरिरहेको छ भने कुनैले खाना बढी भएर फ्यालिरहेका छन् । नेपालीमा अलिकति पनि मानवता छैन । आफ्नो पेट भर्न र आफूले रमाइलो गर्न पाए भइहाल्यो । अरुको बारेमा सोच्ने चलनचल्ती यहाँ छैन । होली खेल्दाखेरि कसैले पनि मास्क लगाउने गरेको पाइँदैन । मास्क नलगाउँदा आँखा, नाक, मुखमा रंग पस्न सक्ने सम्भावना धेरै हुन्छ । यस्तो मिसावटी रंग हाम्रो छालामा पर्यो भने यसले कति हानि पुर्याउँछ ? यस विषयमा कसैको ध्यान केन्द्रित भएको छैन । नेपालमा अझै पनि कोरोना निर्मल भइसकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले पनि कोरोनाको तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

स्वास्थ्यविद्हरुले कोरोना साम्य भई नसकेको र कोरोनाको मापदण्ड पालना गर्न अनुरोध गर्दै आएका छन् । तर, अहिले कोरोनाको मापदण्ड परिपालकहरु कमै मात्र भेटिन्छन् । होली खेल्दाखेरि एकठाँउमा धेरै मानिसको भेला हुन्छ । जसले गर्दा कोरोना फैलिन सक्ने जोखिम झनै धेरै छ । चीनको अधिकांश प्रान्तमा लकडाउन गरिएको छ । त्यसै गरी अमेरिका र फ्रान्समा पनि कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटिएको खबर बाहिर आइरहेको छ । नेपाली लापरबाह बन्ने हो भने पुनः कोरोना फैलिन बेर लाग्दैन । सरकारले बनाएको मापदण्ड नमान्ने हो भने यसको भर्पाइ नेपालीहरु आफैँले गर्नुपर्ने हुन्छ । तीव्र गतिमा कोरोना फैलियो भने नेपाल सरकारले लकडाउन गर्न बाध्य हुन्छ । त्यसैले पनि नेपालीहरुले चाडपर्व मनाउने भन्दै कोरोना फैलाउन काम नगरुन् । चीनमा कोरोनाले तहल्का मच्चाउँदा पनि चीन र नेपालको हवाई उडान सुचारु छ । सरकार अझै पनि सचेत बनिसकेको छैन । चिनियाँहरु अहिले पनि नेपाल आइरहेका छन् । चीन र नेपालबीचको हवाई उडान रोक्न सरकारले कुनै योजना बनाएको छैन ।

२०७६/०७७ सालमा कोरोनाका कारण होली मनाइएन । तर, अहिले सरकारले कोरोना हटिसकेको जस्तै गरेर होली मनाउन इजाजत दिएको छ । होली मनाउने नाममा फेरि पनि कोरोना त फैलिँदैन ? फेरि पनि लकडाउन हुने त होइन ? हाम्रो कारणले अरुको ज्यान पनि जान सक्छ । नेपालमा कोरोना हटिसकेको छैन, छिमेकी देशमा कोरोनाले हंगामा मच्चाएको छ भनेर हामीले बिसर्नुहुँदैन । कोरोनाकै कारण १२ हजार बढीले ज्यान गुमाइसकेका छन् । होली खेल्दा आफू पनि बचौँ र अरुलाई बचाऔँ । सरकार पनि नागरिकप्रति जिम्मेवार बनोस् । होली खेल्न पाइन्छ, तर अरुको हक–अधिकारको बारेमा सोचेर । अरुलाई दुःख दिने गरी होली खेल्नेलाई सरकारले कारबाही गर्नुपर्छ । होली खेल्दा अरुलाई आपत् पर्ने काम कसैबाट पनि नहोस् ।
अनुसा थापा, भक्तपुर

प्रतिक्रिया दिनुहोस्