सुर्नयामा शीतभण्डार निर्माण शुरू



बैतडी (नेस) ।

बैतडीको सुर्नया गाउँपालिका– २ सिउडेमा शीत भण्डार भवन निर्माण कार्य शुरू भएको छ । संघीय सरकारको विशेष अनुदानअन्तर्गत शीत भण्डार भवन निर्माण कार्य शुरू भएको हो । उक्त शीत भण्डारको प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी, प्रदेश सांसद लिलाधर भट्ट र उपाध्यक्ष लीला विष्टले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

शीत भण्डार भवन निर्माणका लागि श्री पातालभुमेश्वर नारी एकता बहुउद्देश्यीय कृषि सहकारी संस्थासँग भवन निर्माणका लागि सम्झौता भएको छ । सरकारको ४८ लाख लगानी र स्थानीयको ६ लाख बराबरको जनश्रमदान गरी ५४ लाखमा शीत भण्डार भवन निर्माण सम्पन्न हुने जनाइएको छ ।

किसानहरूले स्थानीयस्तरमा उत्पादन गरेका कृषिजन्य उपजहरूलाई भण्डारणका लागि सहज होस् भनेर शीत भण्डार निर्माण कार्य शुरू गरिएको सुर्नया गाउँपालिकाकी उपाध्यक्ष लीला विष्टले जानकारी दिनुभयो ।

शीत भण्डार भवन निर्माण भएपछि स्थानीयहरूलाई कृषि उपज संकलन तथा भण्डारणका लागि सहज हुने विश्वास गरिएको छ । यसैबीच, शीत भण्डार भवन निर्माणका लागि जग्गादाता स्थानीय गोमती चन्दको परिवारलाई सम्मानसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्