गैरदलीय स्थानीय तह निर्माण अभियानद्वारा माइतीघरमा प्रदर्शन, आन्दोलनको चेतावनी


काठमाडौं।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुबीच प्रतिष्पर्धा गराएर गैरदलीय निर्माणको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ । बुधबार गैरदलीय स्थानीय तह निर्माणका लागि ऐक्यवद्धता सभामा देशका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुले स्थानीय तहलाई स्वतन्त्र र जवाफदेही बनाउने दलीयकरणबाट मुक्त राख्नुपर्ने माग राखे । उनीहरुले सरकारले गैरदलीय स्थानीय तह निर्माण नगरे आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी समेत दिए ।
गैरदलीय स्थानीय तह निर्माण अभियानका संयोजक दिनेश सुवेदीले स्थानीय तहलाई अझ लोकतान्त्रिक, पारदर्शी र जवाफदेही बनाउने गैरदलीय चुनावबाट प्रतिनिधि निर्वाचित गर्नुपर्नेमा जोड दिए । सँसारका ८० प्रतिशत देशमा स्थानीय तहलाई गैरदलीय बनाइएको उदाहरण दिदै नेपालमा पनि त्यस्तै हुनुपर्ने बताए । उनले सरकारलाई आफूले वाचापत्र भनी घोषणा गरेको चुनावी घोषणापत्र सम्झाउँदै तत्काल संविधानमै व्यवस्था भएको गैरदलीय स्थानीय तहको अभ्यासमा जोड दिए ।

नेकपा मालेका महासचिव सीपी मैनालीले स्थानीय तहमा गैरदलीय अवस्था निर्माण गर्नुको विकल्प नभएको बताए । सबैतर्फ दलीय हस्तक्षेप हुँदा भ्रष्टाचार र अनियमितता व्याप्त भएको उनको भनाई थियो । स्थानीय तहमा स्थानीय स्वतन्त्र व्यक्तिहरु प्रतिनिधिका रुपमा आएमा अझ काम राम्रो र पारदर्शी हुने तर्क गरे ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले स्थानीय तहमा टिकटको लिलामविक्री अन्त गर्न पनि गैरदलीय स्थानीइ तह अपरिहार्य भएको बताए । संविधानमा समेत स्थानीय तहमा गैरदलीय चुनाव गर्न सकिने प्रावधान रहेकोले कार्यान्वयनमा जानुपर्ने बताए । बालेन्द्र साह नेतृत्वको सरकारले विगतमा स्थानीय तहलाई गैरदलीय निर्माण गर्ने प्रतिवद्धता जनाएकोमा जनतालाई धोका दिन खोजेको आरोप लगाए । स्थानीय तहमा चुनावको घोषण नहुँदै रास्वपाभित्र टिकटको किनबेच चलेकोमा तत्काल छानविन हुनुपर्नेमा जोड दिए ।

वरिष्ठ पत्रकार ऋषि धमलाले स्थानीय तहलाई गैरदलीय निर्माण गरेर सरकारले गरेको वाचा पूरा गर्नुपर्ने बताए । सरकार दुई तिहाईको शक्तिशाली भएको हुँदा यो समयमा स्थानीय तहको चुनावलाई स्वतन्त्र व्यक्तिहरुबीच मात्र प्रतिष्पर्धा हुने गरी व्यवस्था गर्न माग गरे ।

जाग नेपालीका संयोजक डा. दीपेश केसीलाई स्थानीय तहलाई गैरदलीय निर्माण नगरे आन्दोलनको आँधीबेहरी आउने चेतावनी दिए । देशको सबै क्षेत्रमा स्थानीय तहलाई गैरदलीय निर्माण गर्न माग चलिरहेकोले बेवास्ता गरे सरकार नै समस्यामा पर्ने बताए । स्वतन्त्रको लहर देशैभरी आउँदा बालेन्द्र साह प्रधानमन्त्री सम्म बनेको तर अहिले आएर वाचा भुलेको बताए । सरकारले जनभावना बेवास्ता गरेर स्थानीय चुनावमा जर्बजस्ती गरेमा टकराव हुने बताए ।

सामाजिक अभियन्ता रवीन्द्र महर्जनले स्थानीय तहलाई दलको सिन्डिकेट बनाइएकोमा परिवर्तन अनिवार्य भएको बताए । उनले दलको शाखामा स्थानीय तहलाई परिणत गर्दा समस्याहरु बढिरहेको बताए ।
स्थानीय तह गैरदलीय निर्माण अभियानका अभियन्ताहरु डा. प्रकाश अधिकारी, अनिष वैद्य, भूपेन्द्र नेम्वाङ, अधिवक्ता तिलकबहादुर रिजाललगायतले स्थानीय तह गैरदलीय बनाइछाड्न सडक संघर्ष गरिरहने बताए ।