बैतडीमा देखियो कालाजार



बैतडी ।

बैतडीमा कालाजार संक्रमण देखापरेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि हो । धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । महिलामा कालाजार पुष्टि भएपछि नेपाल सरकारको नीतिअनुसार सम्पर्कमा रहेकाहरुको परीक्षण गरिएको उहाँले बताउनुभयो । ‘कुनै व्यक्तिमा कालाजार देखिएमा सम्पर्कमा रहेका कम्तीमा १५ जनाको नमुना संकलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीति छ’, उहाँले भन्नुभयो– ‘सोहीअनुसार हामीले छेउछाउका २१ जनाको नमुना संकलन गरेर परीक्षण गरेका छौं ।’

स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयको कालाजार परीक्षण गरेको हो । नमुना संकलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जोशीले बताउनुभयो । कालाजार समुदायका अरू व्यक्तिमा पनि हुनसक्ने भएकाले परीक्षण गरिएको हो । नमुना परीक्षणबाट नेगेटिभ आएपछि उक्त समूदायमा कालाजार नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कालाजार भए/नभएको रगत परीक्षणबाट थाहा हुन्छ ।

कालाजार भएमा टाउको दुख्ने, ज्वरो आउने, छालामा विभिन्न खालको संक्रमण हुने, तौल घट्नु, थकान महसुस हुनु, रक्तअल्पता हुनुलगायतका लक्षण देखा पर्दछन् । स्यान्ड फ्लाई नामक भुसुनाको टोकाइबाट कालाजार सर्ने गर्दछ । भुसुनाको टोकाइबाट बच्नु नै यसको संक्रमणबाट बच्ने प्रभावकारी उपाय रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

कालाजारबाट बच्नका लागि साँझदेखि बिहानसम्म यो भुसुना सक्रिय हुने हुनाले सकेसम्म यो समयमा बाहिर ननिस्कने, बाहिर जाँदा वा असुरक्षित घरहरूमा बस्दा मौसमअनुसार सहन सक्ने गरी शरीरको धेरै भाग छोप्ने, कपडा लगाउने, लामो बाउला भएको सर्ट, लामो पाइन्ट र मोजा लगाउने, सर्टलाई पाइन्टभित्र घुसार्ने, शरीरको लुगाले नढाकिएको भागमा तथा सर्टको बाउला र पाइन्ट गोडातिरको खुला भागमुनि कीरा भगाउने मलम लगाउने, खुला झ्यालढोकामा जाली लगाइएको वा वातानुकूलित (एयरकन्डिसन भएको) स्थानमा बस्न डाक्टरले सुझाएका छन् । स्यान्ड फ्लाई नामका भुसुनाहरू लामखुट्टेभन्दा साना हुने भएकाले स–साना प्वालबाट पनि सजिलै छिर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्