प्रदेश खेलकुदमा काठमाडौंलाई उपाधि



हेटौंडा ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा भएको प्रथम वागमती प्रदेश खेलकुदअन्तर्गत् महिला क्रिकेटमा काठमाडौं विजेता भएको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं पहिलो भयो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले १ विकेट गुमाएर २० ओभरमा १ सय ६२ रन बनाएको थियो । टिमकी कञ्चन श्रेष्ठले सर्वाधिक ७० रन बनाईन् । उनीपछि अस्मिता खरेलले ४३ रन योगदान दिएकी थिइन् । जवाफमा चितवनले २० ओभरमा ४ विकेट गुमाएर ९८ रन मात्रै बनाएको थियो ।

तर, हेटौंडामा भएको पुरुष ब्याडमिन्टनतर्फ भने चितवन पहिलो भयो । मंगलबार भएको फाइनलमा ललितपुरलाई ३–१ सेटले हराउँदै चितवन पहिलो भएको हो । तेस्रो स्थानमा धादिङ र सिन्धुली रहेका थिए ।

त्यस्तै, ब्याडमिन्टनमा महिलातर्फ धादिङ पहिलो भएको छ । फाइनलमा सिन्धुपाल्चोकलाई ३–२ सेटले पराजित गर्दै धादिङले पहिलो स्थान हासिल गर्यो । तेस्रो स्थान ललितपुर र नुवाकोटले प्राप्त गरे । ब्याडमिन्टनमा टिम इभेन्टका आधारमा खेलाइएको थियो । शीर्ष तीन हुनेले क्रमशः ३० हजार, २४ हजार र १८ हजार नगद प्राप्त गरेका छन् ।

पुरुष फुटबलतर्फको खेलमा सिन्धुली र भक्तपुर क्वार्टरफाइनलमा पुगेका छन् । हेटौंडाको क्याम्पा रंगशालामा भएको पहिलो खेलमा सिन्धुलीले काठमाडौंलाई ६–० ले हरायो । सिन्धुलीले पहिलो हाफमा २ तथा दोस्रो हाफमा ४ गोल गरेको थियो । दोस्रो खेलमा भक्तपुरले रसुवालाई ६–० गोलअन्तरले नै हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्यो ।

प्रतिक्रिया दिनुहोस्