प्रधानमन्त्री कप महिला भलिबल चैतमै हुने



काठमाडौं ।

सगरमाथा सिमेन्ट प्रधानमन्त्रीकप महिला भलिबल प्रतियोगिता यही चैत १० देखि १४ गते सम्म आयोजना हुने भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको यो आठौं संस्करण हो । प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । यसै क्रममा अन्तराष्ट्रिय खेलकुद पोशाक ब्रान्ड युक्यानको नेपालस्थित आधिकारिक बिक्रेता सिटिएल र क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टबीच प्रतियोगिताका लागि सहकार्य भएको छ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको मार्केटिङ, ब्रान्डिङ तथा व्यवस्थापनको काम क्रियटिभ गन्जले गरिरहेको छ । सिटिएलका प्रबन्धनिर्देशक राजन महर्जन र क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगातविक्रम शाहबीच सम्झौता भएको छ । सिटिएलले प्रतियोगिताका लागि आवश्यक पोशाक उपलब्ध गराउनेछ ।

घरेलु टिम लुम्बिनी युनाइटेडका लागि पोसाक उपलब्ध गराउनुका साथै आयोजक समिति, रेफ्री अफिसियल र स्वयंसेवकका लागि आवश्यक टिसर्ट प्रदान गर्नेछ । नेपाली भलिबलको सर्वाधिक धनराशी पुरस्कार रहेको प्रधानमन्त्री कप महिला भलिबलसँग जोडिन पाउँदा सिटिएलका प्रबन्ध निर्देशक राजन महर्जनले खुशी व्यक्त गरे ।

क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगात विक्रम शाहले युक्यान जस्तो अन्तर्राष्ट्रिय ब्रान्डलाई नेपालगन्जमा भित्र्याउन पाउनु उपलब्धिमूलक रहेको बताए । खेलाडीको हस्पिटालिटीदेखि पोसाकसम्म स्तर वृद्धि गर्दै जाने सोंचअनुरूप यसअघि नै पाँच तारे होटल सेन्ट्रल प्लाजासँग खेलाडीको आवास तथा भोजनका लागि सम्झौता भइसकेको छ । निजी क्षेत्रको सहभागिताबिना स्तरीय प्रतियोगिताको निरन्तरतामा कठिनाइ हुने भएको हुँदा आयोजकले निजी क्षेत्रलाई विशेष जोड दिने गरेको छ ।

नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप भलिबल नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ । विगतका वर्षहरूमा भन्दा यसपटक कोराना महामारीका कारण केही समय ढिला हुनगएको हो । प्रतियोगितालाई नेपालगञ्जको चिनारीको रूपमा विकास गर्नका लागि संघले प्रतियोगितालाई दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसिपका रूपमा स्थापित गराउने लक्ष्य राखेको छ ।

प्रतियोगितामा देशका चर्चित क्लबहरूसँग मित्र राष्ट्र भारतको क्लबले सहभागिता जनाउनेछ । आउने दिनमा थप सहभागी टोलीका बारेमा जानकारी गराइनेछ । प्रधानमन्त्रीकपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्