न्यू डाँफेलाई जिल्ला लिग उपाधि



बाँके ।

बाँके जिल्ला फुटबल लिगको उपाधि न्यु डाँफे स्पोर्टस क्लबले जितेको छ । नेपालगञ्ज रंगशालामा भएको फाइनल खेलमा न्यू डाँफेले नेपालगञ्जको युनाइटेड क्लबलाई ३–१ गोलले पराजित गरेको हो । खेलमा गोलको अग्रता न्यु डाँफेले लिएको थियो ।

२३ मिनेटमा विमल बस्नेतले गोल गरेका थिए । युनाइटेडले विभूषण केसीको गोलबाट ४० मिनेटमा बराबरी गरेको थियो । मध्यान्तरपछि न्यु डाँफेले दुई गोल थपेपछि उपाधि जितेको हो । ५७ मिनेटमा विमल बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दा ७१ मिनेटमा प्रेम सुनारले अर्को गोल थपे ।

उपाधिसँगै न्यू डाँफेले ३१ हजार रुपैयाँ र उपविजेता युनाइटेड क्लबले २१ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यु डाँफेका विमल बस्नेत भएका छन् । उनले दुई हजार पाँच सय रुपैयाँ व्यक्तिगत रूपमा हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्