उपाधिका लागि दशरथचन्द र खलंगा भिड्ने



बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाचौं संस्करणको मेयरकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा–५ दशरथचन्द र दनपा ४ खलंगा भिड्ने भएका छन् । मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा दनपा ६ थालिगडालाई ४ विकेटले स्तब्ध पार्दै दशरथचन्दले खलंगासँगको भेट पक्का गरेको हो । खलंगा गत संस्करणको च्याम्पियन टोली हो भने दशरथचन्द उपविजेता भएको थियो । गत वर्ष दशरथचन्दलाई ४ रनले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको थियो ।

थालिगडाले दिएको १ सय ३४ रनको लक्ष्य दशरथचन्दले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । जसमा सुदीप टमाटाले ३३ र जगदीश चन्दले नटआउट २६ रनको योगदान गरे । थालिगडाका सौरभ चन्दले २ विकेट लिए ।

त्यसअघि, पहिला ब्याटिङ गरेको थालिगडा १६।१ ओभरमा १३३ रनमा समेटियो । कल्पेस चन्दको ३७ र मनोज ऐरीले ३६ रनको योगदान गरे पनि अन्य ब्याट्सम्यान नचल्दा थालिगडाको फाइनल खेल्ने सपना अधूरै रहेको हो ।

थालिगडाको पारी ध्वस्त पार्ने क्रममा दशरथचन्दका रोबिन चन्द एक्लैले ५ विकेट हात पारेका थिए । उनी ‘म्यान अफ द म्याच’ समेत चुनिए । यसअघि, भएको पहिलो सेमिफाइनलमा दनपा–१० बाराकोटलाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्