स्वस्तिश्री गुरुकुल क्वार्टरफाइनलमा



काठमाडौं ।

आयोजक स्वस्तिश्री गुरुकुल पहिलो स्वस्तिश्री गुरुकुल अन्तरविद्यालय यु–१२ फुटसल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सानो भर्याङस्थित आफ्नै फुटसल मैदानमा बुधबारदेखि शुरु भएको प्रतियोगितामा समूह ‘ए’ को स्वस्तिश्री गुरुकुलको सिनियरले क्वार्टरफाइनलमा स्थान बनाएको हो । स्वस्तिश्री यस समूहमा एक जित र एक बराबरीका साथ क्वार्टरफाइनलमा पुग्यो ।

द एक्सेल्सियर स्कुलसँग १/१ को बराबरी खेलेको स्वस्तिश्रीले दोस्रो खेलमा भने जोन डेवेमाथि ४–० को फराकिलो जित निकाल्दै समूह विजेता बन्यो । स्वस्तिश्रीले क्वार्टरफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्ने । अर्को क्वार्टरफाइनलमा समूह ‘ए’ को उपविजेता द एक्सेल्सियरले समूह ‘बी’ विजेतासँग खेल्नेछ ।

यस समूहबाट नेपालयले नकआउट चरणमा स्थान बनाउँदा स्वस्तिश्री जुनियर र स्वस्तिश्री स्पोट्र्स एकेडेमी दुवैको अन्तिम आठको सम्भावना बाँकी छ । बुधबार हुने एक मात्र लिग खेलमा स्वस्तिश्री जुनियर र एकेडेमी बीचको खेलबाट समूहविजेता र उपविजेता तय हुनेछन् । समूह ‘सी’बाट आदर्श विद्या मन्दिर (एभिएम) समूह विजेता र रिब्स उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरे । एभिएमले पहिलो खेलमा न्यु इरालाई ५–३ ले हराउँदै दोस्रो खेलमा रिब्समाथि ३–२ को जित निकाल्यो ।

दिनको अन्तिम लिग खेलमा रिब्सले न्यु इरामाथि ३–० को जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्यो । दुई टोली मात्र रहेको समूह ‘डी’ मा ब्राइट फ्युचरले युरो स्कुलमाथि २–१ को जित निकाल्दै समूह विजेताको रूपमा अन्तिम आठमा प्रवेश गर्यो । बुधबार हुने क्वार्टरफाइनलमा ब्राइट फ्युचर भिड्नेछन् । तीन दिनसम्म हुने प्रतियोगितामा कुल ११ टोलीलाई चार समूहमा विभाजन गरिएको र समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

मंगलबार एक भव्य समारोह आयोजना गर्दै स्वस्तिश्री गुरुकुल स्कुलका अध्यक्ष रामकृष्ण चित्रकार र स्कुलका ब्रान्ड एम्बेस्डरसमेत रहेका फुटबलर अनिल गुरुङले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्