नर्भिकका विद्यार्थीको उत्कृष्ट नतिजा



काठमाडौं, (नेस) ।

नर्भिक इन्टरनेसनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनले दक्ष जनशक्ति उत्पादनमा समेत राम्रो नतिजा प्रदर्शन गर्दै आएको छ । यो क्रममा सन् २०१७ को बीएससी नर्सिङको ब्याचले ऐतिहासिक र उत्साहजनक सफलता हासिल गरेको छ ।

नवौं ब्याचको रूपमा ३० जना विद्यार्थीले निकै राम्रो नतिजासहित बीएससी नर्सिङको कोर्स पूरा गरेका हुन् । विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरूले यो कोर्स पढ्न पाउँछन् ।

नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसन नवौं ब्याचका ३० मध्ये २७ विद्यार्थीले विशिष्ट श्रेणी तथा बाँकी ३ जनाले पहिलो श्रेणीको अंकसहित ऐतिहासिक सफलता हात पारेका हुन् । यो ब्याचमा समावेश कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीसहित उत्तीर्ण हुनु उत्साहको विषय रहेको नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनका प्रमुख कार्यकारी अधिकृत कुलानन्द शर्माले जानकारी दिनुभयो ।

‘कोभिड पेन्डामिकको बेलाका चुनौतीका बाबजुद पनि हाम्रा विद्यार्थीले गरेको मेहेनतको नतिजा उत्साहपूर्ण आउँदा हामी खुसी छौं’, उहाँले भन्नुभयो– ‘कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीमा कोर्स उत्तीर्ण गरेर हाम्रा मेहेनती विद्यार्थीहरूले रेकर्ड बनाएका छन् ।’

नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनमा विगत लामो समयदेखि बीएससी नर्सिङ, बीएन नर्सिङ र पीसीएल नर्सिङका कोर्सहरू सञ्चालन हुँदै आएका छन् । बीएससी नर्सिङ र बीएन नर्सिङको कोर्स पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हुन् भने प्रवीणता प्रमाणपत्र तह नर्सिङचाहिँ सीटीईभीटीबाट मान्यता प्राप्त कोर्स हो ।

प्रतिक्रिया दिनुहोस्