कालीगण्डकी गोल्डकपलाई चापाकोटको ७ लाख सहयोग

470
Shares

स्याङ्जा ।

स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुन लागेको आठौँ कालीगण्डकी गोल्डकप फुटबल प्रतियोगिताका लागि चापाकोट नगरपालिकाले ७ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । द राईजिङ ग्रुपको आयोजनामा कात्तिक १३ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगितालाई सफल बनाउन नगरपालिकाले उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो । गंगालाल माविको खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख देवबहादुर खाँण ‘ईश्वर’ले प्रतियोगिताका लागि ७ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो ।

नगरप्रमुख खाँणले लामो समयदेखि हुन नसकेको प्रतियोगिता पुनः सञ्चालन हुन लाग्नु खुसीको विषय भएको बताउनुभयो । उहाँले प्रतियोगितालाई सफल बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विगत ११ वर्षदेखि हुन नसकेको प्रतियोगिता सञ्चालन हुन गइरहेको छ । यो खुसीको कुरा हो । यसलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्छ ।” नगरप्रमुख खाँणले खेलकुदले युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै स्थानीय क्षेत्रको पहिचान स्थापित गर्न र खेल पर्यटनको विकासमा समेत सहयोग पु¥याउने बताउनुभयो । प्रतियोगिता सफल बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो ।

आठौँ कालीगण्डकी गोल्डकपमा स्याङ्जा, कास्की, गोरखा, पर्वत, पाल्पा र रुपन्देहीका आठ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । विभिन्न जिल्लाका टोली सहभागी हुने प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लाबीच खेलकुदसम्बन्धी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख रुपैयाँसहित ट्रफी, शिल्ड र मेडल प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, शिल्ड र मेडल प्राप्त गर्ने द राईजिङ ग्रुपका अध्यक्ष लालबहादुर घर्तीले जानकारी दिनुभयो ।

लामो समयदेखि रोकिएको प्रतियोगिता पुनः सञ्चालन हुन लागेकाले यसले चापाकोट क्षेत्रमा फुटबल खेलको विकास र विस्तारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । प्रतियोगिताले स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै खेलाडीको क्षमता अभिवृद्धि र नयाँ प्रतिभाको पहिचानमा समेत सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आयोजकले स्थानीय तह, खेलप्रेमी, व्यवसायी तथा सरोकारवाला सबैसँग सहयोग र सहभागिताका लागि आग्रह गरेको छ । कात्तिक १३ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताले चापाकोटको खेलकुद गतिविधिलाई पुनः सक्रिय बनाउने अपेक्षा गरिएको छ ।