‘उपभोक्ता सचेत भए अखाद्य बस्तुको प्रयोगमा न्यूनीकरण’



जुम्ला ।

खाद्य पदार्थको छनोट, खरिद लगायका विषयमा उपभोक्ता सचेत हुन सके अखाद्य वस्तुको विक्री वितरण र ठगीसमेत नियन्त्रणमा आउने सरोकारवालाहरुले बताएका छन् । जुम्लामा आयोजित कार्यक्रममा नेपालमा खाद्य स्वच्छता र गुणस्तरका विषयमा उपभोक्तामा सचेतना नहुँदा समस्या देखिएकोमा जोड दिइएको छ ।

म्याद गुज्रेका, लेवल विवरण पूरा नभएका, जथाभावी रंग तथा रसायन प्रयोग गरेका र ढुसी परेका खाद्य पदार्थ सम्बन्धी समस्या प्रसस्तै देख्न सकिने यस क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरु बताउँछन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय जुम्लाका प्रमुख डाक्टर ईश्वर सुवेदीले खाद्य पदार्थबारेको चेतना, विषादीको प्रयोगले समस्या थपिदिएको बताउँछन् ।

त्यसैगरी, खाजा घरहरुमा बचेको तेल/घिउलाई पटक पटक प्रयोग गर्ने गरेको पनि देखिन्छ । त्यस्तै, जथाभावी जीवनाशक विषादीको प्रयोग भएका फलफुल र तरकारी सम्बन्धी समस्या पनि बजारमा सुन्नामा आउने गरेका छन ।

त्यस्तै उपरोक्त समस्याहरु केही जानी जानी त केही अन्जानमा वा हेलचेक्राइका कारणले हुने गरेको बताए । उनले भने, ‘खाजा घरहरुमा बचेको तेल घिउको पुन प्रयोग, विषादीको प्रयोग लगायतमा उपभोक्ता स्वयं सचेत हुन आश्यक रहेको छ ।’ उनले एन कानुन मात्रले यस्ता समस्या समाधान नहुने भन्दै सचेतनाका लागि काम गर्नुपर्नेमा जोड दिए ।

सुवेदीले भने, ‘खाद्य पदार्थको उपभोगले तत्कालिन वा दीर्घकालिन रुपमा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असरको बारेमा बुझनु पर्छ । यसको बारेमा जानकारी हाम्रो दायित्व पनी हो । यो जनस्वास्थ्य सम्बन्धि विषय पनि हो ।’

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकार बिजया कुमारी प्रसाईले सवै सरकारी कार्यालयमा अर्गानिक खाजा खुवाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिइन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा प्रजिअ प्रसाइले जुम्लाका सवै सरकारी कार्यालयमा खाजा खुवाएको खण्डमा यहाँको उत्पादनले मूल्य पाउने बताइन् ।

बजारको खाजाले स्वास्थ्यमा असर हुने भएकाले सकभर कार्यक्रमहरुमा जिल्लाकै अर्गानिक खाजामा जोड दिन सबै सरकारी तथा गैरसरकारी निकायलाई उनले अनुरोध गरिन् । प्रजिअ प्रसाईले यो बर्ष बजार अनुगमनको कामलाई तिब्र बनाईएको र एक बर्षमा दुईलाख ४८ लाख छ सय ८९ रुपैयाँको मिति नाघेको खाद्य सामग्री नष्ट गरिएको जानकारी दिइन् ।

जुम्ला र्गानिक जिल्ला घोषणा भएको लामो समय भइसकेकाले यहाँको उत्पादनको खाजा तथा खानामा खुवाउन सकेको खण्डमा किसानको आर्थिक स्तर बढ्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए ।

प्रतिक्रिया दिनुहोस्