आईजीपी दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब आएको समाचारप्रति प्रहरीको आपत्ति, भ्रामक सूचना फैलाउनेमाथि कारबाही गर्ने चेतावनी


काठमाडौं ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब आएको भन्ने समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा संगठनको छवि र जनविश्वासमा नकारात्मक असर पर्न सक्ने बताएको हो।

नेपाल प्रहरीले अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालालाई आग्रह गरेको छ। साथै, प्रहरी संगठनको प्रतिष्ठा र व्यावसायिकतामाथि भ्रम सिर्जना गरी संगठनलाई कमजोर बनाउने उद्देश्यले भ्रामक सूचना फैलाउने व्यक्तिहरूमाथि अनुसन्धान गरी प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने चेतावनी दिएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम र नकारात्मकता सिर्जना हुने उल्लेख छ।

यस्ता गतिविधिले नागरिकको सेवामा समर्पित प्रहरी संस्थाप्रतिको विश्वास, सांगठनिक छवि र निष्ठामा असर पार्न सक्ने प्रहरीको भनाइ छ।

नेपाल प्रहरीले सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ। पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्दै सूचनाको सत्यता सुनिश्चित गर्न पनि प्रहरीले ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा नेपाल प्रहरी सरकारको नीति तथा निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्ने प्रहरीको भनाइ छ।

त्यस्तै, यस्ता समाचार तथा स्वार्थकेन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न प्रहरीका सबै दर्जाका कर्मचारीलाई निर्देशन दिइएको छ। आम नागरिकलाई पनि आधिकारिक तथा तथ्यमा आधारित समाचारमा विश्वास गर्न र अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गरिएको छ।

नेपाल प्रहरीले आफू सार्वजनिक सुरक्षा, शान्ति–अमनचयन कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध संगठन भएको जनाएको छ।

संगठनको प्रतिष्ठा, व्यावसायिकता र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तान्ने प्रयास भएको पाइएमा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

यद्यपि, आईजीपी दानबहादुर कार्कीलाई राजीनामा दिन दबाब आएको भन्ने समाचारको विषयमा प्रहरीले विज्ञप्तिमा छुट्टै तथ्यगत विवरण सार्वजनिक गरेको छैन। प्रहरीले मुख्य रूपमा अपुष्ट सूचना र भ्रामक प्रचारप्रति आपत्ति जनाउँदै तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।