सुदूरपश्चिमका पहाडी जिल्लामा वायुसेवाको जहाज चल्दा यात्रुलाई सहज



डोटी (नेस)।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि सुदूरपश्चिमका तीन जिल्लाहरू बझाङको चैनपुर, अछामको साँफे तथा डोटीको दिपायल विमनस्थलमा नेपाल वायुसेवा निगमको जहाज सञ्चालन भएपछि यात्रुहरूलाई निकै सहज भएको छ ।

मन्त्री आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएसँगै अहिले यहाँका तीन जिल्लाहरू बझाङ, अछाम तथा डोटीमा हप्तामा दुईपटक उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मन्त्री ज्युको निर्देशनपछि हामीले यहाँका तीन जिल्लामा हप्तामा दुईपटक सोमबार र शुक्रबार नियमित उडान शुरू भएको छ, र बाजुरा जिल्लामा यात्रु सङ्ख्याका आधारमा उडान गर्ने गरेका छौं । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका तीन जिल्लामा आफ्नो हवाई उडान शुरू गरेपछि यात्रुहरूलाई पनि सहज हुनुका साथै यात्रु सङ्ख्यामा वृद्धि भएको गेटा विमानस्थल कार्यालयले जनाएको छ ।

यात्रु अभाव तथा जहाजको कमी भएको भन्दै नेपाल वायुसेवा निगमले सुदूरपश्चिममा केही समय पहिलेदेखि आफ्नो उडान सेवा बन्द गरेपछि निजी क्षेत्रका केही कम्पनीहरूले यात्रु सङ्ख्याका आधारमा कहिले काँही उडान भर्दै आएका थिए । सुदूरपश्चिमका पहाडी जिल्लामा कालोपत्र गरिएका विमानस्थलमध्ये बैतडीको पाटन विमानस्थलमा भने नेपाल वायुसेवा निगमले अहिलेसम्म पनि आफ्नो हवाई उडान सेवा चालु गर्न सकेको छैन ।

नेपाल वायुसेवाले उडान गर्न नसकेका कारण उक्त विमानस्थलमा निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी समिट एयरले उडान गर्ने गरेको बताइएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा नियमित जहाज सञ्चालनका लागि गृहकार्य शुरू भइरहेको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘हाललाई सुदूरपश्चिममा साप्ताहिक रूपमा जहाज सञ्चालनका लागि नेपालगञ्ज बस्ने गरी वायुसेवाको एउटा जहाज पठाइएको छ भने केही समयभित्र यात्रु सङ्ख्याका आधारमा नियमित उडान गर्ने गरी तयारी हुँदैछ ।

घर छेवैमा विमानस्थल भए पनि जहाज नआउँदा निकै दुःखित भएका सुदूरपश्चिमका नागरिकहरू अहिले नेपाल वायुसेवाले जहाज सञ्चालन गरेपछि यात्रा गर्नका लागि सहज भएको भन्दै निकै खुशी भएका डोटीको दिपायल सिलगढी नगरपालिका–३ का गणेशबहादुर साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘विमानस्थल कालोपत्र भएको वर्षौं भएको थियो तर जहाज नआउँदा दुःख लागेको थियो, अहिले आफ्नै क्षेत्रको प्रेम आले पर्यटनमन्त्री भएपछि जहाज आउन थाल्यो, यात्रा गर्न सहज भएको छ, हामी पनि खुशी भएका छौँ ।’

दिपायलसहित यहाँका अन्य जिल्लामा रहेका विमानस्थलहरूको थप बिस्तार तथा स्तरोन्नतिका लागि पनि मन्त्री आलेले बजेट विनियोजन गरी काम शुरू हुने प्रक्रियामा पुगेपछि नागरिकहरूमा झनै खुशीयाली थपिनुका साथै इमरजेन्सी उपचारका लागि लैजानुपर्ने बिरामीदेखि अन्य नागरिकलाई यात्राका लागि सहज भएको अछामका स्थानीयवासी तथा सञ्चारकर्मी विष्णु भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘विमानस्थलमा जहाज नचल्दा इमरजेन्सी उपचारका लागि लैजानुपर्ने बिरामीदेखि अन्य नागरिकलाई यात्रा गर्दा निकै समस्या थियो, पैसा हुनेले हेली बुकिङ् गर्थे । नहुनेको अकालमै ज्यान जाने गर्दथ्यो, अहिले जहाज सञ्चालनपछि सबैलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्