गाँजा कारोबारीलाई रंगेहात पक्रँदै प्रहरी



खोटाङ ।

अवैध लागूऔषध गाँजाको व्यावसायिकरूपमा खेती तथा बिक्री गर्ने खोटाङमा धमाधम पक्राउ परिरहेका छन् । गाँजा खेती तथा कारोवार गरिरहेका हलेसी क्षेत्रका स्थानीयलाई प्रहरीले गाँजासहित नै पक्राउ गरिरहेको हो ।

झण्डै ३३ केजी गाँजासहित पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राईलाई बुधबार साँझ प्रहरीले सार्वजानिक गरेको छ । राईद्वयलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले दुर्छिमस्थित बतासेघाटबाटदगाँजासहित रंगेहात पक्राउ गरेको हो । बतासेघाट नजिकै पर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न गाँजा लुकाएर राखेको छ भन्ने स्थानीयले दिएको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैविरुद्ध लागूऔषध बेचविखन तथा कारोबार महलअन्तर्गत जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जनाउनुभयोे । दुवै जनालाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यस्तै, गत भदौ ५ गते १५ केजी गाजाँसहित सोही नगरपालिका–७ महादेवीस्थानस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले उनको घरैबाट पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेर मुद्दा चलाएको छ ।

लागूऔषध उत्पादन गर्ने उद्योग नै सञ्चालन गर्दै आएका सोही नगरपालिका–१ बाहुनीडाँडाका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपालीलाई गत असोज–२८ गते उद्योगबाटै पक्राउ गरेको थियो । पक्राउ परेका राई र नेपालीको उद्योगबाट ठूलो मात्राका लागूऔषधको कच्चा पदार्थ बरामद गरिएको थियो । पक्राउ परेका दुवैविरुद्ध प्रहरीले मुद्दा चलाउनुका साथै बरामद गरेको कच्चा पदार्थ नष्ट गरेको थियो ।

यस्तै, गत चैत–४ गते सोही नगरपालिका–७ राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो । गाँजा कारोबारमा संलग्न राई हाल फरार रहेका र उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेर उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाइएको छ ।
हलेसी क्षेत्रका स्थानीय बासिन्दाले अवैध रूपमा गर्दै आएका अवैध गाँजा खेती नष्ट गर्न तथा बिक्री–वितरणमा रोक लगाउन जिल्ला प्रहरी कार्यालय खोटाङले अभियान नै सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्