मोटरसाइकल चोरी आरोपित ६ जना पक्राउ



भद्रपुर ।

झापाका विभिन्न क्षेत्रबाट मोटरसाइकल चोरी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपितलाई बिहीबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

भद्रपुर नगरपालिका–७ बस्ने २१ वर्षीय प्रकाश सहनी, सोही वडाका २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दीपेश राजवंशी, भद्रपुर–१ बस्ने ३० वर्षीय बिर्ख लिम्बु र भारत किसनगंज बिरखोर घर भई भद्रपुर–६ मा समिम ग्यारेज सञ्चालन गर्दै आएका १९ वर्षीय मोहम्मद समिम पक्राउ परेको डीएसपी वसन्त पाठकले बताउनुभयो ।

सहनीले मोटरसाइकल चोरी गरी बिक्री–वितरण गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनको पिछा गरेको थियो । फागुन २३ गते दिउँसो सवा ३ बजे बिर्तामोडस्थित एभरेष्ट बैंङ्कको शाखा कार्यालयको कम्पाउन्डमा पार्किङ गरिराखेको लु८३प ३५५४ नम्बरको पल्सर मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको उहाँको भनाइ छ ।

सहनीलाई सोधपुछ गर्दा उनले विभिन्न मिति र स्थानबाट जम्मा ७ वटा मोटरसाइकल चोरी गरेको बयान दिएका थिए । सहनी, दर्जी, उराउ र राजवंशीले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बेचविखन गर्ने ठाउँसम्म पुर्याउने गरेको, चोरी गरी ल्याएको मोटरसाइकलको पाटपुर्जा, नम्बर प्लेट परिवर्तन गरी अन्य ब्यक्तिलाई मूल्य निर्धारण गरी बिक्री–वितरण गर्ने काममा समिम र लिम्बुले सहयोग गर्ने गरेको प्रहरीले जनाएको छ । सहनी पक्राउ परेकै दिन उनका साथीहरुलाई पनि पक्राउ गरेको डीएसपी पाठकले बताउनुभयो ।

जिल्लाअन्तर्गत विभिन्न स्थानबाट मोटरसाइकल चोरीको घटना अत्यधिक बढेको र सवारी धनीहरुले जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा मोटरसाइकल चोरी भएको भनी लिखित निवेदन दिएपछि प्रहरीले खोजतलास शुरु गरेको थियो । उजुरीपश्चात् प्रहरीले गरेको निगरानीमा चोरी भएका लु८३प ३५३४, प्र.२–०३–०१४प ७२७५, प्र.१–१–०१–०१३प ८९७७, मे९प १४१५, मे१२प १४१८, बा९३प ४८१६ र प्रदेश १–०१–०१४ प २४२५ नम्बरका मोटरसाइकल बरामद भएको डीएसपी पाठकले जानकारी दिनुभयो ।

सबैभन्दा बढी विर्तामोड क्षेत्रबाट मोटरसाइकल चोरी हुने गरेको उहाँको भनाइ छ । बरामद गरिएका मोटरसाइकल विर्तामोडसहित बुधबारे, सुरुङ्गा, भद्रपुरलगायतका क्षेत्रबाट चोरी हुने गरेको पाठक बताउनुहुन्छ । मोटरसाइकलको स्वरूप परिवर्तन गरेका कारण सवारी धनीले चिन्न समेत नसकेको उहाँले बताउनुभयो । ६ जना सवारी धनी सम्पर्कमा आइसकेका छन् ।

संलग्न उनीहरुलाई नियन्त्रणमा लिई झापा जिल्ला अदालतबाट मुलुकी अपराध (संहिता) ऐन–२०७४ बमोजिम चोरी कसूरमा बुधबार ७ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डीएसपी पाठकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्