संघर्षले खारिएका सुवास



झन्डै चार दशक लामो समय नृत्य र कोरियोग्राफी क्षेत्रमा समर्पण गर्ने हिम्मत गर्ने कर्मशील कलाकर्मी थोरै छन्। तीनै मध्येका हुन् भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं–३ का सुवास बुढाथोकी।

नेपालदेखि भारतसम्म पुगेर नृत्य सिकेका तथा नृत्यका साथमा कोरियोग्राफी गर्दै आएका बुढाथोकी उमेरले ५१ वर्ष पुगे, तर नृत्य र कोरियोग्राफीमा उनको सक्रियता भने अहिले पनि उस्तै छ। संघर्षले खारिएका सुवासलाई मेहनतले सफल बनाएको छ।

‘स्कुलमा सरहरूले नाच्न सिकाउन हुन्थ्यो। २०४४ सालमा एसएलसी दिएपछि ल क्याम्पस भर्ना भएँ। सानैदेखि डान्समा रुचि नभएकाले २०४५ सालमा नवदुर्गा कला मन्दिरमा नेपाली डान्स गुरु कृष्णहरि थापासँग नृत्य सिकेँ। त्यो बेलामा लोकनृत्य धेरै चल्थ्यो, तर मेरो भित्री इच्छा भने कत्थकमा थियो। त्यसैले, साधना कला केन्द्रमा स्व। प्रवेश वान्तवासँग नृत्य सिकेँ। सँगसँगै उहाँको सहायक भएर काम पनि गरेँ’ सुवासले पुराना दिन सुनाए ‘साधनामा क्लास पनि लिन्थेँ। बिहान क्लास लिएर दिउँसो सुटिङमा जान्थें र प्रवेश गुरुको सहायक भएर कलाकारलाई डान्स गर्न सिकाउँथे।

प्रवशे गुरु सुटिङमा जानुपर्ने भएकाले तँ क्लास लिएर सुटिङमा आइज भन्नु हुन्थ्यो। ममा नृत्य सिक्ने र यसमै करियर बनाउने भोक यति धेरै थियो कि अझै सिक्न पर्यो भनेर मुम्बई पुगेर नटराज गोपीकृष्णको नाट्येश्वर भवनमा तालिम लिएँ। उहाँले बेलुका बच्चाहरूलाई क्लास लिन मलाई लगाउनुहुन्थ्यो र पकेट खर्च पनि निस्किन्थ्यो।

गोपीकृष्णसँग नृत्य सिक्दा सिक्दै र बच्चाहरूलाई सिकाउँदा सिकाउँदै एक डेढ वर्षपछि उहाँको निधन भएपछि अर्को महान् नृत्य गुरुआमा क्लासिकल क्विन तथा उहाँकै सानिमा सीतारा देवीसँग नृत्य सिकेँ। त्यहाँ मैले वनारस घराना गोपीकृष्ण स्टाइल। त्यही अन्तरालमा सरोज खान र विजय बराडे (हम आपके हे कौनका कोरियोग्राफर) सँग फिल्मी कोरियोग्राफी सिकेँ। त्यसो गर्दा अधिकांश समय म इन्डियामै हुन्थें। एक दुई महिना यता हुन्थें भने बाँकी समय उतै बित्थ्यो।’

नृत्यमा अत्यन्तै चाख र डुब्ने सुवासले यसै गरी चार वर्ष मुम्बइृमा बिताएछन्। त्यस क्रममा उनले अखिल भारतीय महागान्धर विद्यालय मण्डलमा शास्त्रीय नृत्मा डिप्लोमा गरे। ‘मुम्बईमा बस्दा मलाई धेरै ठूला अवसरहरू थिए। कोही कोरस डान्स गर्न जाऊँ भन्थे भने अरू पनि अवसर थिए। गाउँमा मानिसहरूले बुबा–आमालाई मान्छे डक्टर, इन्जिनियर पढ्न बाहिर जान्छन्, तेरो छोरोचाहिँ डान्स सिक्न पो गएको भनेर खिसी गर्थे।

मेरो गुरुआमा सीतारा देवी पनि बुढी भइसक्नुभएको थियो। ममाचाहिँ नेपालमै केही गरौं भन्ने सोच आयो र नेपाल फर्कें। फेरि साधना कला केन्द्रमा डान्स सिकाउन थालेँ। ग्यालेक्सी पब्लिक स्कुल, होलील्यान्ड इन्टरनेसनलजस्ता स्कुलमा पनि नृत्य पढाउन थालेँ’ सुवास सुनाउँदै थिए ‘प्रवेश सरसँग ठुल्दाइ, चाँदनी, मनै त होलगायतका फिल्ममा डान्स पनि सिकाएँ। प्रवेश सरकै सल्लाहमा हिमालय कला मन्दिर खोलियो। जहाँ अहिले पनि म डान्स सिकाएर नृत्य कलाकारहरू तयार पारिरहेको छु।’ निखिल उप्रेती, विराज भट्ट, सज्जा मैनाली, स्व. केशव भट्टराई, प्रिया रिजालजस्ता थुप्रै कलाकारले उनकै कला मन्दिरमा पुगेर नृत्य सिकेका रहेछन्। त्यसै क्रममा हिमालय कला मन्दिरबाट हिमालय साँझ नामक कार्यक्रम गरेपछि भने उनका गुरु प्रवेश वान्तवाको असामयिक निधनले उनलाई ठूलो घात पर्यो।

सुवासले सहायक नृत्य निर्देशक हुँदै काँचुली, घायल प्रेम, अधुरो प्रेमजस्ता केही भिडियो फिल्मका साथमा झन्डै दुई दर्जन फिल्मका लागि कोरियोग्राफी गरेका छन्। ‘प्रवेश सरलाई माया गर्नेहरूले उहाँको असामयिक निधनपछि मलाई नै कोरियोग्राफीको अफर गर्थे। उदय सुब्बाले तिम्रै लागिमा पहिलोपटक अफर गर्नु भएको थियो’ सुवासले सम्झिए। त्यसपछि भने सुवासले पछाडि फर्केर हेर्नुपरेन। लगातार कोरियाग्राफीमा काम गरिरहे। नाम के होरु, औंठाछाप, हाम्रो जिन्दगी, प्यारी बहिनी, खोला वारि खोला पारि, शहरजस्ता फिल्ममा उनको कोरियोग्राफी छ भने चौधरी फिल्म जाली संसारलगायत विभिन्न भाषाभाषीका फिल्मका लागि पनि उनले कोरियोग्राफी गर्दै आएका छन्।

मुम्बई र नेपालमा नृत्य तथा कोरियोग्राफी गरी खारिएका सुवास पछिल्लो समय भने म्युजिक भिडियो निर्देशन र कोरियोग्राफीमा व्यस्त छन्। आयो तिम्रो राजा, असारे मास साइली, चिया पकाउन साइलीजस्ता म्युजिक भिडियो उनको निर्देशन र कोरियाग्राफीमा तयार भएको छ। यसबाहेक केही विज्ञापन फिल्म पनि उनले बनाएका छन्। सूर्यविनायक फेसन लाइन डान्स इस्टिच्युटका नृत्य निर्देशकसमेत रहेका सुवासले म्युजिक भिडियो निर्देशन गरेबापत असारे मास बोलको गीतको भिडियोबाट क्वालिटी इन्टरटेनमेन्ट अवार्डसमेत पाएका छन्।

‘हाम्रो पालामा कोरियोग्राफी र नृत्यबाट बाच्न गाह्रो थियो। अहिले भने यसैबाट आरामदायक जीवन बाँच्न सकिन्छ। तर, लगनशलि इमान्दार भएर निरन्तर काममा लाग्नुचाहिँ पर्छ। अहिले खाली जसले जम्प हान्यो, हाहा हुहु गर्यो उही माथि आउने जस्तो भएको छ। योचाहिँ साह्रै चित्त नबुझेको महशुस भएको छ। मिठास मिसिङ भएको छ। क्लासिकल डान्स भनेको त अमृत हो नि’ सुवास सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्