सत्यवती एकेडेमीलाई उपाधि



धनगढी ।

सत्यवती एकेडेमी अत्तरियाले छैटौं धनगढी मेयर लिटिल फ्लावर प्रिमियर लिग अन्डर १९ स्कुलस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधि सहित सत्यवती एकेडेमीले एक लाख ५० हजार तथा उपविजेता विद्याभूषणले ७५ हजार रुपैयाँ प्राप्त गरे । शनिबार भएको फाइनलमा सत्यवती एकेडेमीले विद्याभूषण पब्लिक स्कुल गेटा कैलालीलार्ई १ सय ६१ को फराकिलो रनअन्तरले पराजित गरेको हो ।

धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सत्यवती एकेडेमीले २ सय ५१ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा विद्याभूषण स्कूलले १२.१ ओभरमा ८९ रन मात्र बनाउन सक्यो । टिमका लागि नुरेन विष्टले सर्वाधिक ३१ रन बनाए । सत्यवती एकेडेमीको बलिंगमा युवराज खत्री र नीरज भट्टले समान तिन विकट तथा सन्तोष कार्र्की र सुजन गौतमले समान दुई विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ५० रन बनाएको थियो । टिमका लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाए । उनले आक्रामक ब्याटिङ गर्ने क्रममा ४५ बलमा ११ छक्का र ३ चौका प्रहार गरे ।

सन्तोष र खगेन्द्र जोशीले प्रारम्भिक विकेटका लागि १ सय ८० रनको साझेदारी गरे । यो प्रतियोगितामा कुनै पनि विकेटका लागि उच्चतम साझेदारी समेत हो । खगेन्द्रले ८३ रन बनाउने क्रममा ५१ बलमा १० चौका र ३ छक्का प्रहार गरे । आदील अन्सारी १२ बलमा २ चौका र ३ छक्कासहित ३५ रन नटआउट रहेका थिए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्की चुनिए जसले २० हजार रुपैयाँ प्राप्त गरे। यस्तै, उत्कृष्ट ब्याटर विद्या भूषणका वीरेन्द्र नाथ तथा उत्कृष्ट बलर हिमालयन ह्वाइट हाउसका दीपक बोहरा घोषित भए । उनीहरूले जनही १० हजार रुपैयाँ प्राप्त गरे। यस्तै, सत्यवती एकेडेमीका युवराज खत्री उदीयमान खेलाडी चुनिए । उनले १० हजार रुपैयाँ प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्