सिमोन र पुष्पा केटीएम रनमा पहिला



काठमाडौं ।

१० किलोमिटर दूरीको केटीएम रनमा केन्याका धावक सिमोन किप्लागेट र शसस्त्र प्रहरी बल (एपीएफ) की धाविका पुष्पा भण्डारी पहिला भएका छन् । सर्वाधिक पुरस्कार राशी राखेर आयोजना गरिएको दौड प्रतियोगिता शनिबार आयोजना भएको हो । काठमाडौंमा भएको दौडमा सिमोनले निर्धारित दूरी ३० मिनेट ५५ दशमलव ५७ सेकेन्ड र पुष्पाले ३६ मिनेट २० दशमलव २० सेकेन्डमा पूरा गरे । विजेताले जनही एक/एक लाख रुपैयाँ प्राप्त गरे ।

शेर्पा आउटडोरको केटीएम सिटीको आयोजनामा सञ्चालन भएको दौडमा पुरुषतर्फ दुर्गाबहादुर बुढाले ३० मिनेट ५७ दशमलव ६० सेकेन्डको समय निकाल्दै दोस्रो बने । तेस्रो बनेका मुकेश पलले ३१ मिनेट २२ दशमलव ६३ सेकेन्डमा निर्धारित दूरी पार गरे । चौथौं बनेका अजित कुमार यादवले ३१ मिनेट ३६ दशमलव ४२ सेकेन्डको समय निकाले । सन्तोष विष्ट पा“चौ, सुवास कार्की छैटौं, टंक कार्की सातौं, राजेन्द्र तामाङ आठौं, सञ्जिव नेपाली नवौं र दिनेशसिंह बोगटी दशौं स्थानमा रहेका हुन् ।

महिलातर्फ एपीएफकी फुलमती राना ३७ मिनेट १४ दशमलव ०१ सेकेन्डको समय निकाल्दै दोस्रो बनिन् । तेस्रो बनेकी राममाया बुढा ३९ मिनेट ४२ दशमलव ०८ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । महिला स्पर्धामा बिन्द्रा श्रेष्ठ चौथो, सिमोन थारू पाँचौं, सरस्वती बोहरा छैटौं, आशा रावल सातौं, बिमला कार्की आठौं, राधिका श्रेष्ठ नवौं र कृष्णश्वेरी सिन्तकला दशौं स्थानमा रहेका हुन् ।

दुवै स्पर्धाका उपविजेताले ५० हजार, तेस्रोले ३० हजार, चौथोंले २० हजार, पाँचौले १० हजार, छैटौंले ५ हजार रुपैयाँ प्राप्त गरे । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गरे । दरबारमार्गबाट शुरु भएको दौड, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर पुगेर पुनः सोही रुट हुँदै त्रिपुरेश्वर, न्युरोड, जमल भएर दरबारमार्ग आएर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्