कौटिल्यलाई सफलता



काठमाडौं ।

कौतिल्यले छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ‘ए’ साइड छात्र नकआउट फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ । काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको खेलमा कौटिल्यले लाइसियमलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । लाइसियमका सक्सेस सेढाईं ‘म्यान अफ द म्याच’ घोषित भए ।

अन्य खेलमा गणेश हिमाल, अक्षरिका, मनकामना र ब्रेस्ट ग्रुप भिजनले जित हात पारे । गणेश हिमालले गुडडे एकेडेमीलाई ६–० गोलले हरायो । गणेशका विप्लव नेपालले ह्याट्रिक गरे भने मनीष थापा र बैकप कार्कीले समान १–१ गोल गरे । एक गोल आत्मघाती थियो । अक्षरिकाले विद्या अर्जनलाई ३–१ गोलले पाखा लगायो ।

अक्षरिकाका सुखद लामाले २ तथा आयुष कार्कीले १ गोल गरे । मनकामनाले पुष्प वाटिकामाथि ५–० को सहज जित रच्यो । मनकामनाका सुमन सुनुवार र अशोक तामाङले २–२ तथा कृष्ण मोक्तानले १ गोल गरे ।

बेस्टले बोधीसदनलाई २–० ले पन्छायो । दुवै गोल मनीष गिरीले गरे । रेडिअन्टले प्रीतिमाबाट वाकओभर पायो । प्रतियोगितामा ३२ टिम सहभागी छन् । विजेताले २० हजार, उपविजेताले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल फागुन २० गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्