ओमानलाई हराउँदै नेपाल तेस्रो



काठमाडौं ।

नेपालले ओमानलाई ९ विकेटले हराएर आईसीसी टी–२० विश्वकप छनोट ‘ए’ मा तेस्रो बनेको छ । बिहीबार तेस्रो स्थानको लागि भएको खेलमा नेपालले घरेलु टिममाथि शानदार जित हासिल गरेको हो । मात्र ८८ रनको विजयी लक्ष्य नेपालले १६.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । उक्त जितमा ओपनर कुशल भुर्तेलले ५५ रनको सर्वाधिक योगदान दिए । उनको यो टी–२० आई करियरमा पाँचौ अर्धशतक पनि हो ।

यो उपलब्धिले कुशललाई टी–२० आईमा सर्वाधिक अर्धशतक बनाउने नेपाली क्रिकेटर पनि बनायो । यस्तै आरिफ शेखले २१ रनको योगदान दिए भने आसिफ शेखले १३ रन बनाए । पहिलो विकेटका लागि आशिफ र कुशलले ५० रनको साझेदारी गरेका थिए ।

यसअघि, ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले सर्वाधिक २१ रन बनाए । नेपालका बलरमा सन्दीप लामिछानेले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी, अभिनाश बोहरा आरिफ शेख र सागर ढकालले १–१ विकेट लिए ।

नेपालको लागि सान्त्वना जित सावित भएको छ । नेपाल सेमिफाइनल खेलमा यूएईसँग ६८ रनले पराजित भएपछि अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न वंचित भएको हो । जबकि, नेपाल समूह ‘बी’ बाट अपराजित रहँदै अन्तिम चारमा पुगेको थियो । नेपालले समूह चरणमा ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्