आर्मी र प्रहरी च्याम्पियन



काठमाडौं ।

विभागीय टोली नेपाल आर्मी क्लब र नेपाल प्रहरी क्लब लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेका छन् । आर्मीले पुरुष तथा प्रहरीले महिलाको उपाधि जितेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले टाइम्सलाई ९०–५८ ले सहजै पराजित गर्यो । आर्मीको जितमा आयुश सिंहले सर्वाधिक २६ अंक योगदान गरे । टाइम्सका सदीश प्रधानले १७ स्कोर गरे । सहज जित हात पार्ने क्रममा आर्मीले चारै क्वार्टरमा अग्रता बनायो । आर्मीले क्रमशः २२–१०, २४–२०, १७–१६ र २७–१२ ले अग्रता लिएको थियो ।

महिलाको रोमाञ्चक फाइनलमा अनुषा मल्लको १९ अंक सहयोगमा प्रहरीले रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ ले हरायो । प्रहरीले उपाधिसँगै राउन्ड रोविन लिगमा रोयलसँग व्यहोरेको हारको बद्ला पनि लियो । राउन्ड रोविन लिगमा रोयल विजेता तथा प्रहरी उपविजेता बन्दै उपाधि को लागि खेल्ने तय गरेका थिए । रोयलकी रोशनी श्रेष्ठले १४ अंक जोडिन् ।

पहिलो क्वाटरमा दुवै टिमले ८–८ अंकको बराबरी खेले । प्रहरी दोश्रोमा २०–१५ र तेश्रोमा १४–११ ले अघि रहँदै जित्नेतिर अग्रसर भएको थियो । चौथो तथा अन्तिम क्वाटरमा रोयलले १५–१० को अग्रता लिए पनि जितका लागि पर्याप्त भएन । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार पाए ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा प्रहरीकी अनुषा मल्ल मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार हात पारे । पुरुषमा रोयलका सुदीप पौडेल क्षेत्री तथा महिलामा रुपन्देहीकी दीपिका गुरुङ उदीयमान खेलाडी चुनिए । दुवैलाई समान ७ हजार नगदबाट पुरस्कृत गरियो ।

नेपाल बास्केबटल संघका पूर्वअध्यक्ष लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको पुरुषमा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । महिलाको राउन्ड रोविन लिगमा ५ टिम सहभागी थिए । १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि राखेप कभर्डहलमा पहिलो पटक बास्केटबलको प्रतियोगिता भएको हो ।

प्रतिक्रिया दिनुहोस्