एट्लेटिको र युनाइटेडको बराबरी



लन्डन, (एजेन्सी) ।

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा स्पेनिस क्लब एट्लेटिको मेड्रिड र इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर यूनाइटेड बराबरीमा रोकिएको छ ।

बुधबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध आफ्नो घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले अग्रता बचाउन नसक्दा १–१ गोलको बराबरीमा सकिएको हो । घरेलु मैदान वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा घरेलु टोलीले खेलको सातौं मिनेटमै अग्रता लिएको थियो । पोर्चुगिज युवा खेलाडी जोआओ फेलिक्सले हेडिङमार्फत् सो गोल गरेका थिए । रेनान लोडीले लामो दूरीबाट दिएको पासमा फेलिक्सले पेनाल्टी बक्स अघिबाट गरेको हेडिङ बल पोलमा लाग्दै गोलमा परिणत भएको थियो । सातौं मिनेटमै गोल गरेर एट्लेटिकोले राम्रो शुरुआत गरेको थियो ।

उक्त खेलमा एट्लेटिको बढी आक्रामक बने पनि एकभन्दा बढी सट अन टार्गेट राख्न सकेन । एट्लेटिकोले जम्मा १३ पटक अट्याक गरे पनि मात्रै एकपटक अन टार्गेट सट हानेको थियो । उता, युनाइटेडले ६३ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर जम्मा सातपटक सट हान्दा दुईपटक मात्रै अन टार्गेट गरेको थियो । उक्त खेलमा क्रिस्टियानो रोनाल्डो शुरुआतबाटै खेले पनि उनले खासै प्रभाव जमाउन सकेनन् । यी दुई टोलीको खेल अब अर्को महिना युनाइटेडको घरेलु मैदानमा हुनेछ ।

त्यस्तै, पोर्चुगिज क्लब बनेफिका र डच क्लब आयाक्स बीच भएको अर्को खेल भने २–२ गोलको बराबरीमा सकियो । बेन्फिकाको मैदानमा घरेलु टोलीका रोमन यारेमचुकले गोल गर्दा एक गोल उपहार पाएको थियो । आयाक्सका डुसान टाडिक र सेवास्टिन हालेरले गोल गरे । यी दुईबीच दोस्रो लेग आयाक्सको मैदानमा १५ मार्चमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्