सातदोबाटोलाई तेस्रो हुने मौका



काठमाडौं ।

पहिलो पटक ‘ए’ डिभिजन खेलेको सातदोबाटो युथ क्लबका लागि यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो हुने मौका बनेको छ । बिहीबार भएको खेलमा सातदोबाटोले छिमेकी टिम च्यासल युथ क्लबलाई १–० ले हराएको हो । टिमको जितमा अजायी मार्टिन्सले निर्णायक गोल गरेका थिए । यो जितले सातदोबाटोलाई २१ अंकसहित तेस्रो स्थानमा पनि पु¥याएको छ । यदि, अन्तिम चरणको खेलमा एनआरटी (२० अंक) र मनाङ मस्र्याङदी क्लब (२० अंक) ले हार व्यहोरेमा सातदोबाटोको पहिलो लिगमै उत्कृष्ट अन्त्य हुनेछ । यद्यपि, टिम शीर्ष ५ मा रहेर नै लिगमा उत्कृष्ट अन्त्य गर्ने भइसकेको छ ।

‘ए’ डिभिजनको डेब्युमै सातदोबाटोले सानदार प्रदर्शन गरेको छ। सातदोबाटोले १३ खेलमा ६ खेलमा जित निकाल्दा केवल ३ खेलमा हार बेहोरेको छ । यस्तै, टिमले ४ खेलमा बराबरी खेलेको छ । सातदोबाटोले ‘ए’ डिभिजनमा महारथी कहलिएका टिम थ्रीस्टार र मनाङ मस्र्याङदीलाई स्तब्ध तुल्यायो । उता रेलिगेसन भइसकेको च्यासलको भने यो नवौं हार हो ।

फ्रेन्डस् १२औं स्थानमा
फ्रेन्डस् क्लबले यस सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग १२औं स्थानबाट अन्त्य गरेको छ । बिहीबार आफ्नो १३औं तथा अन्तिम खेलमा फ्रेन्डस्ले हिमालयन शेर्पा क्लबसँग १–१ बराबरी खेलेको हो । फ्रेन्ड्सले आत्मघाती गोलबाट अग्रता लिएको थियो । तर, हिमालयन शेर्पाले बराबरी गोल फर्काएर फ्रेन्ड्सलाई जितबाट वञ्चित गरेको थियो । ७३औं मिनेटमा दिवस उराउको आत्मघाती गोलबाट फ्रेन्ड्सले अग्रता लिएको थियो । रोनेल एन्थोली पउलको फ्रिकिकलाई दिवसले हेडमार्फत बचाउने क्रममा गोलरक्षक किशोर गिरी अल्मलिन पुग्दा बल आफ्नै पोस्टतिर गुडेको थियो । तर, ८९औं मिनेटमा विसन गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई १–१ बराबरीमा पुर्याएका थिए ।

यो बराबरीसँगै हिमालयन शेर्पाले १३ खेलबाट १४ अंक जोडेको छ । नवौं स्थानमा रहेको हिमालयन टिमले ३ जित, ५ बराबरी र ५ हार व्यहोरेको छ । टिमको लिग कुन स्थानबाट अन्त्य हुने त्यो अरू खेलको नतिजाबाट प्रष्ट हुनेछ । फ्रेन्ड्सको १३ खेलबाट ११ अंक जोड्दै १२औं स्थानमै यथावत् रह्यो । टिमले लिगमा २ जित, ५ बराबरी र ६ हारको नतिजा निकालेको छ । यस सिजनबाट च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेशन भए भने मच्छिन्द्रले उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्