पीएसजीको लज्जास्पद हार



पेरिस, (एजेन्सी) ।

फ्रेन्च लिग वानमा लिग लिडर पीएसजीले लज्जास्पद हारको सामना गर्नुपरेको छ । शनिबार राति भएको सिजनको २५औं चरणको खेलमा पीएसजीलाई १० औं स्थानको नान्टेसले ३–१ गोलअन्तरको नमिठो हारको सिकार बनाएको हो । पाहुना टोली बनेर नान्टेसको घरमा पुगेको पीएसजीले हार पन्छाउन सकेन । पीएसजीको लागि यो यस सिजनको दोस्रो हार हो ।

नान्टेसको मैदानमा पहिलो हाफमै पीएसजी ३–० गोलअन्तरले पछि परेको थियो । नान्टेसले शुरुआतबाटै आक्रामक खेल खेल्दै पहिलो हाफभित्रै पीएसजीको पोस्टमा तीन गोल गरेको थियो । पीएसजीको रक्षापंक्तिले पटक–पटक गल्ती गर्दा नान्टेसका खेलाडीले भरपुर त्यसको फाइदा उठाउन सफल भए । नान्टेसका लागि खेलको चार मिनेटमै रान्डाल कोलो मुआनीले शानदार गोल गरेर पीएसजीलाई ठूलो झट्का दिए ।

मुआनीले आक्रामक मुभमा सो गोल गरेका थिए । जसमा पीएसजीका गोलकिपर केलर नाभासले बल रोक्ने कुनै मौका नै पाएनन् । त्यसपछि, नान्टेसले १२ मिनेटपछि नै दोस्रो गोल पनि थप्यो । यसपटक डीबक्स नजिकैबाट क्विनटिन मर्लिनले शक्तिशाली प्रहारमा गोल गरे । सो गोलपछि पीएसजी १६ मिनेटभित्र २–० ले पछि परेको थियो ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा नान्टेसले तेस्रो गोल पनि गर्यो । डीबक्समा पीएसजीका खेलाडीले ह्यान्ड गरेपछि रेफ्रीले भीएआर जाँच गरेर नान्टेसलाई पेनाल्टी दिने निर्णय गरेका थिए । जसमा लुडोभिच ब्लासले कडा सटमा गोल गरेपछि पीएसजी पहिलो हाफमै ३–० ले पछि परेको थियो ।

पहिलो हाफमा नान्टेसले थप दुई गोलका राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेन । उता, नेयमारले वान भर्सेस वानमा पाएको अवसर खेर फाल्दा पीएसजी पहिलो हाफमा गोलविहीन बन्न पुगेको थियो । पहिलो हाफमा तीन गोल बेहोरेको पीएसजीले दोस्रो हाफमा एक गोल फर्कायो । दोस्रो हाफ शुरू भएको दुई मिनेटमै नेयमारले डीबक्स भित्रबाट लिओनल मेसीको पासमा सुन्दर गोल गरेका थिए । त्यसपछि, बाँकी समयभरि नै पीएसजीले थप गोल गर्न नसक्दा नान्टेसले खेल ३–१ ले जित्यो ।

उक्त खेलमा पीएसजीका प्रमुख खेलाडी नेयमार पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । उनले ५९औं मिनेटमा प्रहार गरेको पेनाल्टी नान्टेसका गोलकिपरले सहजै बचाउ गरेका थिए । उक्त खेलमा नान्टेसका गोलकिपरले शानदार प्रदर्शन गर्नु पनि पीएसजीका लागि समस्या बनेको थियो । अब यो हारपछि पनि पीएसजी २५ खेलपछि ५९ अंक रहेको छ । यता, विजयी नान्टेसको भने ३८ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्