रियलको सानदार जित



लन्डन, (एजेन्सी) ।

रियल मेड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले रेलिगेसनको दबाबमा रहेको डिर्पोेटिभो अलाभेसलाई ३–० गोलले हराएको हो । एकपक्षीय खेलमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, मार्को असेन्सियो र भिनिसियस जुनियर गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा असेन्सियोेले ६३औं मिनेटमा खाता खोलेका थिए । उनले बेन्जेमाको पासमा गोल गरेका थिए ।

खेलको ८०औं मिनेटमा भिनिसियसले बेन्जेमाकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । जारी सिजन ला लिगामा भिनिसियसको यो १३औं गोल हो । सर्वाधिक गोल कर्ताको दोस्रो स्थानमा रहेका भिनिसियसले पाँच असिस्ट पनि दिएका छन् । त्यसपछि इन्जुरी समयमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई फराकिलो जित दिलाए । डिबक्सभित्र रोड्रिगोलाई फ्लोरियन लेजिउनीले फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो । जसलाई बेन्जेमाले सदुपयोग गरे ।

जारी सिजन ला लिगामा बेन्जेमाको यो १८औं गोल हो । सर्वाधिक गोल कर्ताको सूचीमा शीर्षमा रहेका बेन्जेमाले नौ असिस्ट पनि दिएका छन् । ७० प्रतिशत बल पोसेसन राखेको रियलसामु पाहुना टोली अलाभेस निरिह बन्यो । रियलका कप्तान बेन्जेमा ‘म्यान अफ दि म्याच’ भए । जितसँगै रियलको २५ खेलबाट ५७ अंक पुगेको छ । पराजित अलाभेसको २० अंक छ ।

त्यस्तै, अर्को खेलमा एट्लेटिको मेड्रिडले ओसासुनालाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले हरायो । एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस स्वारेज र एन्जल कोरेआले गोल गरे । जितसँगै एट्लेटिकोले २५ खेलबाट ४२ अंक बनाएको छ । पराजित ओसासुना ३२ अंक छ । अर्को खेलमा भिल्लारियलले ग्रानाडालाई ४–१ गोलले हराउंदा गेटाफे र काडिजले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्