हिमालयन ह्वाइट हाउस विजयी



धनगढी, (नेस) ।

धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुल र विद्या भूषण गेटा विजयी भएका छन् ।

पहिलो खेलमा हिमालयन ह्वाइट हाउसले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको शानदार जित निकाल्यो । टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । जवाफी ब्याटिङमा शारदाले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

शारदाका कोही पनि ब्याटर हिमालयनका बलर सामु टिक्न सकेनन् । शारदाका मिलन बोहराले १९, गणेश बिटालुले १४ र सागर चन्दले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । शारदालाई सस्तैमा समेट्न हिमालयनका राहुल भण्डारीले ४ विकेट लिए । सन्दीप शाहले २, अनुप कुँवर, सन्दीप शाही, नारायण जोशी र दीपक बोहराले १/१ विकेट लिए ।

यसअघि, हिमालयनका लागि दीपक बोहराको जोडीले ५० रनको साझेदारी गर्दै टिमलाई राम्रो शुरुवात दिलाए । दीपक (सिनियर) ले ३० बलमा ५ चौका र २ छक्काको मद्दतले ४८ रन बनाए । दीपक जुनियरले २० बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाएका थिए ।

त्यस्तै, राहुलले २ छक्का र २ चौकासहित ३० बलमा ४० रनको पारी खेल्दा, वसन्त कार्की २० र अनुपले १७ रन बनाए । शारदाका मिलन र अर्जुन सिंह साउदले समान २/२ तथा गणेश, प्रेम थापा र विकास सुनारले १/१ विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ अलराउण्ड प्रदर्शन गरेका राहुल घोषित हुँदा गेम चेन्जर अवार्ड पनि उनैले पाए । सर्वाधिक छक्काको अवार्ड भने दीपक सिनियर, राहुल, वसन्त र अनुपले पाए ।

दोस्रो खेलमा विद्या भूषणले आयोजक लिटल फ्लावरलाई ५५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विद्या भूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । जवाफमा लिटल फ्लावरले १७.६ ओभरमा अल आउट हुँदै ८८ रन मात्रै बनाउन सक्यो ।

टिमका लागि विपिन रावलले ३३ बलमा ३० रन बनाउँदा नरेन भट्टले १९ र प्रकाश जैशीले १५ रन बनाएर आउट भए । बलिङतर्फ विद्या भूषणका कप्तान शेर मल्लले ४, प्रदीप चन्दले ३, अर्जुन साउद, वीरेन्द्र नाथ र नरेन साउदले १/१ विकेट लिए ।

यसअघि, विद्या भूषणका लागि वीरेन्द्र नाथले २६ बलमा ३४, प्रदीप चन्दले २३ बलमा ३०, सुरेन्द्र ऐरीले १७, नरेन साउद १४ र कप्तान शेर मल्ल १० रन बनाएर आउट भए । बलिङ तर्फ लिटल फ्लावरका पुष्कर बडुले कसिलो बलिङ गर्दै ३ ओभरमा ३ विकेट लिएर १९ रन दिए । प्रकाश जैशीले २, सुवास ऐर र नरेन भट्टले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्