लिग च्याम्पियन बन्यो मच्छिन्द्र



काठमाडौं ।

मच्छिन्द्र फुटबल क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गरेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले सातदोबाटो युथ क्लबलाई १–० ले हराएसँगै उपाधि सुरक्षित गरेको हो । नोर्लान नोर्भुजोभले ५३ औं मिनेटमा गरेको गोल नै जनबहालको क्लबलाई लगातार दोस्रोपटक लिग उपाधि दिलाउन पर्याप्त भयो । अन्तिम सिठी बजेपछि टिमका खेलाडी, पदाधिकारी र समर्थकले खुसीयाली मनाए ।

मच्छिन्द्रले ११ औं चरणको खेल समाप्तिमै उपाधि जितेको हो, जबकी अझै २ खेल्न बाँकी नै छ । मनाङ मस्र्याङदी क्लबले तीन खेल खेल्न बाँकी हुँदा पनि मच्छिन्द्र च्याम्पियन बन्न सफल भएको छ । मच्छिन्द्रको २९ अंक र दोस्रो स्थानको टिम मनाङको २० अंक छ । जारी लिगमा मछिन्द्रले मनाङसँगको भेटमा १–० को सुखद नतिजा निकालेको हो । यो नतिजा अहिले आएर मच्छिन्द्रको लागि टर्निङ प्वाइन्ट पनि भयो ।

यदि, मच्छिन्द्रले बचेको दुवै खेलमा हारेमा र मनाङले तीनै खेल जितेमा दुवै टिमको समान २९ अंक हुनेछ । तर, यो स्थितिमा मनाङले मच्छिन्द्रलाई उपाधि जित्नबाट वञ्चित गर्न सक्दैन । हेड टू हेडमा मच्छिन्द्र अगाडि रहेकोले उपाधि मच्छिन्द्रकै हुनेछ । मच्छिन्द्रले जारी लिगमा छैटौं चरणको खेलमा कडा प्रतिद्वन्द्वी मनाङलाई १–० ले हराएको हो । उक्त खेल बराबरीतिर लम्किरहेको स्थितिमा इन्जुरी समयमा सुनील बलले फ्रिकिकमा सीधै गोल गर्दै मच्छिन्द्रलाई रोमाञ्चक जित दिलाएका हुन् । उ क्त जितको साक्षी बनेका करिब १० हजार दर्शक रंगशालामा थिए ।

यो नतिजापछि पनि मनाङले मच्छिन्द्रलाई आठौं चरणसम्म चुनौती दिएको थियो । तर, नवौं चरणमा आएर स्थितिले अर्कै मोड लियो । मनाङ सातदोबाटोसँग नवौं चरणमा हार्नु र दशौं चरणमा थ्रीस्टार क्लबसँग बराबरी खेल्नु नै मच्छिन्द्रको लागि उपाधि सुरक्षित गर्न बाटो खुल्यो । वास्तवमा मच्छिन्द्रले जारी लिगमा शानदार खेल पस्किरहेको पनि छ । टिम जारी लिगमा लगातार ११ खेलसम्म अपराजित बनेको छ र आगामी दुई खेलमा थ्रीस्टार र एपीएफसँग खेल्न बाँकी छ । जारी लिगमा हार अपराजयको यात्रामा रहनेमा दुई टिम त्रिभुवन आर्मी र मच्छिन्द्र मात्रै छन् ।

११ चरणको खेल खेलिसकेको मच्छिन्द्रले ९ खेलमा जित र २ खेलमा बराबरी नतिजा निकालेको छ । मच्छिन्द्रले विपक्षीको पोस्टमा १७ गोल गरेको छ भने टिमको पोस्टमा १ गोल मात्रै परेको छ । उक्त गोल पहिलो खेलमै एनआरटीबाट व्यहोरेको हो । यसपछि लगातार १० खेलसम्म पनि टिमका गोलकिपर विशाल श्रेष्ठले क्लिन सिट (गोल नव्यहोरेको) बनाइराखेका छन् । त्यस्तै, टिमलाई च्याम्पियन बनाउन सुनील बलले ६ गोल र विमल घर्तीमगरले ४ गोलको योगदान दिएका छन् ।

विभागीय टिम बराबरीमा
बुधबार नै भएका खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्ल्बले बराबरी नतिजामा चित्त बुझाएका छन् । पुलिसले थ्रीस्टार क्लबसँग र आर्मीले हिमालयन शेर्पा क्लबसँग समान १–१ बराबरी नतिजा निकालेका हुन् । थ्रीस्टारका लागि ऋतिक खड्काले २१औं मिनेटमा गोल गरेर अग्रता दिलाए । तर, पुलिसलाई सुमन सुवेदीले ५३औं मिनेटमा गोल गरेर हारबाट जोगाए ।

तर, आर्मी भने हिमालयन शेर्पाविरुद्ध जित हासिल गर्न विफल भयो । जर्ज प्रिन्स कार्कीले २६औं मिनेटमा गोल गरेर आर्मीलाई अग्रता दिलाए । उक्त अग्रता दोस्रो हाफमा गुमाएपछि आर्मीको लागि नतिजा बराबरीमै सीमित भयो । हिमालयन शेर्पाका लागि मुताम्बा पिस्टनले गोल फर्काएका हुन् । जारी लिगमा सातौं बराबरी खेलेको आर्मीले ११ खेलबाट १९ अंक जोडेको छ । यसैगरी, थ्रीस्टारले १८ अंक, सातदोबाटोले १५ अंक, हिमालयन शेर्पाले १३ अंक र पुलिसले ११ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्