वालिङमा सिलाइ कटाइ तालिम



स्याङ्जा (नेस) ।

जिल्लाको वालिङमा सिलाइ कटाइ तालिम शुरू भएको छ । आधिखोला वहुप्राविधिक शिक्षालयको आयोजना तथा दियालो यूएनडीपी नेपालको सहजीकरणमा तालिम शुरू भएको हो । तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै वालिङ नगरपालिका ६ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठले घर–घरमा सीपयुक्त जनशक्ति हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सीपयुक्त जनशक्तिले नै आर्थिक समृद्धि सम्भव छ । तालिम सफलताको कामना गर्नुभयो ।

कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले सिक्ने र सिकाउने बीचको सक्रियताले नै तालिम सफल हुने बताउनुभयो । दियालो संस्थाले विभिन्न साझेदार संस्थाहरूसँग मिलेर सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘दियालो संस्थाले महिलालाई सीपयुक्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ समूहमा आवद्घ महिलालाई सिलाई कटाइसम्बन्धी प्राविधिक ज्ञान सीपको विकास गरी उनीहरूको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले उक्त तालिम आयोजना गरिएको तिवारीको भनाइ छ ।

कार्यक्रममा बोल्दै आँधीखोला बहुप्राविधिक शिक्षालयका प्रमुख इन्जिनियर शरद कोइरालाले स्थानीयको माग र आवश्यक्ताका आधारमा विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । छोटो अवधि र लामो अवधिका गरी दुई प्रकारका सीपमूलक तालिम सञ्चालन गरिरहेको भन्दै प्रमुख कोइरालाले जुनसुकै सीपमूलक कार्यक्रम सञ्चालनका लागि पनि आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा आँधीखोला बहुप्राविधिक शिक्षालयका कार्यक्रम संयोजक नवराज पौडेल, लेखापाल अशोक गैह्रेलगायतले तालिमको महत्वको बारेमा चर्चा गर्नुभयो । ३ सय ९० घण्टा अर्थात ६५ दिनसम्म सञ्चालन हुने तालिममा शर्मिला अधिकारी महत तथा चन्द्रकला तिवारीले प्रशिक्षण दिनुहुने जनाइएको छ । तालिममा २० जना महिलाहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्