ओलीद्वारा संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना



ललितपुर, (नेस) ।

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । पूर्वमन्त्री एवं एमाले नेता सांसद कृष्णगोपाल श्रेष्ठले शनिबार बिहान किस्ट अस्पतालमा संस्कृतिविद् जोशीलाई भेटेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना सुनाउनुभएको हो । अस्पतालमा सांसद श्रेष्ठले भन्नुभयो– ‘राष्ट्रपति र पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्षले संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र मेरो तर्फबाट समेत उहाँको अवस्थाबारे यथार्थ जानकारी लिन अस्पताल आएको हुँ ।’

उहाँले फोक्सोमा पानी जमेका कारण जोशीको स्वास्थ्यमा केही समस्या देखिएको र अस्पतालका वरिष्ठ चिकित्सकको टिमले फोक्सोबाट पानी निकालिसकेकाले अब स्वास्थ्यमा सुधार देखिएको चिकित्सकले बताएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।’ उहाँ अबको केही दिनमा निवासमै फर्कने चिकित्सकहरूले बताएका छन् । जोशी स्वयंले पनि भेट्न आउने सबैलाई अबको केही दिनमा आफू निवास फर्कने बताउने गरेको जिकिर गर्दै सांसद श्रेष्ठले भन्नुभयो–‘उहाँको अनुहार हँसिलो छ । देशको जिउँदो इतिहहास बोकेको संसकृतिविद् जोशीको उपचारमा कुनै समस्या छैन ।’

एक शताब्दी नाघिसकेका जोशीको छातीमा समस्या आएपछि गत मंगलबार किस्ट मेडिकल कलेज शिक्षण अस्पताल भर्ना हुनुभएको हो । उहाँमा निमोनिया पनि देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्