अव्यवस्थित वैदेशिक रोजगारी



नेपालबाट विभिन्न राष्ट्रमा रोजगारीका लागि जाने नेपालीहरुको संख्या दैनिक बढिरहेको र सँगसँगै उनीहरुले भोग्नेगरेका समस्या पनि थपिएको देखिन्छ । तर त्यस क्षेत्रमा भएका समस्याहरुको समाधान गर्न सरकार उदासीन हुनेगरेको छ । जति पटक सरकार गठन भएपनि वा मन्त्रीहरु फेरिए पनि वैदेशिक रोजगारीका समस्याहरु समाधानका लागि ठोस पहल हुनसकेको छैन । वैदेशिक रोजगारीमा जानेहरुले भोग्ने गरेका अनगिन्ती समस्याहरुको समाधानका लागि सरकारले विभिन्न दातृ संस्थाको सहयोगमा परियोजनाहरु सञ्चालन गरेको भए पनि कानुनी अड्चनका कारण प्रभावकारी हुन नसकेको देखिन्छ । विशेषगरी युवाहरु थोरै लगानी गरी धेरै पैसा कमाउन जाने प्रलोभनमा ठगिने गरेका छन् भने श्रमका नाममा नेपाली महिला तथा पुरुषहरु बेचविखनमा समेत पर्नेगरेका छन् ।

गरिवी, युवा जनशक्तिको बढ्दो आकार, आन्तरिक रोजगारीको न्यून अवसर, परम्परागत जीवन निर्वाहमा घट्दो रुचि, ऋणको भार, सामाजिक दबाब, प्रभाव र हिंसाका अनेक स्वरुप, पारिवारिक बेमेल र देशको अस्थिर अवस्थाका कारण वैदेशिक रोजगारीमा जाने युवा प्रभावित छन् । वैदेशिक रोजगारीका लागि अन्य देशमा रोजगारीको अवसर, पारिश्रमिकको अन्तर वा अधिक आय, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरुको माग, साथीभाइहरुको लहैलहै, सूचना तथा जानकारीको सहज पहँुच र मुलुकभित्रै राम्रो रोजगारीको अभाव तथा राम्रोभन्दा हाम्रो मानिसलाई प्रश्रय आदिले गर्दा जनशक्ति पलायन स्वाभाविक भएको छ । प्रतिवर्ष करिव ४ लाख ५० हजार श्रमशक्ति आन्तरिक श्रम बजारमा प्रवेश गर्ने गरेको छ । कोभिड– १९ को महामारीअघि दैनिक सरदर १ हजार देखि १२ सय नेपालीहरु वैदेशिक रोजगारीका लागि जाने गरेको तथ्याङ्क छ । मलेसिया तथा खाडी मुलुकहरु युएई, कतार, बहराइन, साउदी अरव र ओमानमा जाने नेपालीहरुको संख्या धेरै छ । ७५ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र १ प्रतिशत मात्रै दक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । अदक्ष कामदार विदेश पुगेकै कारण हरेक दिन नेपालीहरुको निधन हुने गरेको छ । ठगीका घटना सामान्य भएका छन् । वैदेशिक रोजगारीका कारण उनीहरुको परिवारमा सामाजिक संकट देखिन थालेका छन् ।

तत्कालका लागि राज्यलाई विप्रेषण प्राप्त भएपनि वैदेशिक रोजगारीले नोक्सान नै दिएको छ । दाम्पत्य जीवनमा अविश्वास तथा वैदेशिक रोजगारीमा गएको समयमा भएको आर्थिक अपचलन तथा मानसिक यातनाजस्ता समस्या गम्भीर छन् । वैदेशिक रोजगारीकै कारण आन्तरिक बसाइसराइमा वृद्धि, पारिवारिक बेमेल र घरेलु हिंसा तथा विखण्डन, मनोसामाजिक समस्या, महिलाको कार्य जिम्मेवारीमा परिवर्तन तथा कार्यबोझ, युवा जनशक्तिको न्यूनता, जग्गा बाँझो छाड्ने प्रवृत्ति, भड्किलो र खर्चिलो सामाजिक जीवनका कारण अनुत्पादक क्षेत्रमा खर्च गर्ने बाँनी, बालबालिका तथा ज्येष्ठ नागरिकहरुमा नकारात्मक असर, एक्लोपना, शहरी जनसंख्यामा वृद्धि, ग्रामीण जनसंख्यामा असमानता, मानव बेचविखन र मानव तस्करीमा बढ्दो चलखेलका घटना हुन थालेका छन् । वैदेशिक रोजगारीका कारण भएका यी समस्या समाधानका लागि सरकार जिम्मेवार हुनुको विकल्प छैन । तीन तहकै सरकारले यी र यस्ता समस्याको समाधानमा गम्भीर हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्