सिटिजन्स बैंक र र्यापिडबीच सहकार्य, कर्पोरेट ग्राहकले ईआरपीबाटै बैंकिङ सेवा लिन सक्ने


काठमाडौं।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’बीच सहकार्य भएको छ। सहकार्यसँगै बैंकका कर्पोरेट ग्राहकले अब आफ्नै ईआरपी (ERP) वा सफ्टवेयर प्रणालीमार्फत विभिन्न बैंकिङ सेवा सञ्चालन गर्न सक्ने भएका छन्।

बैंकका अनुसार ‘र्यापिड’लाई सिटिजन्स बैंकको प्रणालीमा एकीकृत गरिएको छ। यसमार्फत ग्राहकले खाताको ब्यालेन्स हेर्न, स्टेटमेन्ट डाउनलोड गर्न तथा आगामी दिनमा फण्ड ट्रान्सफर, ईएमआई भुक्तानी र तलब वितरणजस्ता सेवा एउटै प्लेटफर्मबाट सञ्चालन गर्न सक्नेछन्।

‘र्यापिड’ एपीआईमा आधारित बैंकिङ प्लेटफर्म हो, जसले बैंक, फिनटेक र डिजिटल सेवा प्रदायकलाई ‘बैंकिङ एज अ सर्भिस’ (BaaS) मोडलमार्फत जोड्ने काम गर्छ।

अब ग्राहकले ‘Connect with API Banking’ विकल्प प्रयोग गरी आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन्। बैंकका अनुसार यसले वित्तीय कामकाजलाई थप डिजिटल, सहज र व्यवस्थित बनाउँदै समय, लागत तथा सञ्चालनसम्बन्धी झन्झट कम गर्नेछ।

सेवा प्रयोग गर्न कर्पोरेट ग्राहकले बैंकमा एकपटक आवश्यक फाराम भरेपछि अधिकांश बैंकिङ सेवा अनलाइनमार्फत सञ्चालन गर्न सक्नेछन्। र्यापिडले ग्राहकको अनुमति (Consent) प्रक्रियालाई समेत डिजिटल बनाएको बैंकले जनाएको छ।

बैंकका अनुसार प्लेटफर्ममा एण्ड–टु–एण्ड इन्क्रिप्सन, मल्टिलेयर भेरिफिकेसन तथा आधुनिक सुरक्षा प्रणाली प्रयोग गरिएको छ, जसले डिजिटल कारोबारलाई सुरक्षित बनाउनेछ।

सिटिजन्स बैंकले साना, मझौला तथा ठूला व्यवसायलाई समान रूपमा डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले यो सहकार्य गरेको जनाएको छ।

हाल सिटिजन्स बैंकले देशभर ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।