विमल विष्ट, काठमाडौं ।
पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको जस्तै राम्रा र प्रशंसनीय काम गर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिनु भएको छ ।
एकीकृत समाजवादीको भातृ संस्था अनेरास्ववियुले आज बुधबार पार्टी कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष नेपालले भन्नुभयो, “मन्त्री आले जीले राम्रो र प्रशंसा गर्न योग्य काम गर्नु भएको छ, अन्य मन्त्री ज्युहरूले पनि यस्तै खालका राम्रा काम गर्नुस् ।”
सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष नेपालले मन्त्री आलेले गरेको जस्तै जनता र देशको हित हुने काम गर्न समेत आफ्नो दलबाट सरकारमा सहभागी मन्त्री तथा प्रदेश प्रमुखलाई आग्रह गर्नुभयो । सरकारमा आफ्ना पार्टीबाट सहभागी हुनु भएका अरू मन्त्रीले पनि आलेको जस्तै प्रशंसा गर्न योग्य काम गरेर देखाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
सोही क्रममा अध्यक्ष नेपालले जनताको समस्या समाधान गर्ने कार्यमा लाग्न मन्त्री तथा नेता कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । आफ्नो दलले नेतृत्व गरेका दुई प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिँदै थप भन्नुभयो, “प्रदेश १ र बागमतीले पनि उदाहरण योग्य काम गरेर देखाओस्, पार्टीको चाहना पनि त्यही हो ।”











प्रतिक्रिया