मुगु ।
जिल्लामा कोरोना महामारी रोकथाम गर्न खोप अभियानलाई तीव्रता दिइएको छ । कोरोनाविरुद्धको दोस्रो मात्राको खोप नलगाएका स्थानीयलाई खोप लगाउन हिमाली बस्तीहरूमा स्वास्थ्यकर्मी खटाइएका छन् ।
१८ वर्षमाथिका महिला–पुरुष र ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। जिल्लामा झण्डै ५ सय जनाले बुस्टर खोप लगाइसकेका छन्। अझै २ हजार जनालाई बुस्टर खोप दिन बाँकी छ । एकपल्ट खोप नलगाएका र दोस्रो मात्राको खोप लगाउनेलाई पनि विभिन्न केन्द्रमार्फत खोप लगाइरहेको कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन दीपकबहादुर रावलले बताउनुभयो । उहाँका अनुसार सोरू, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकामा बुस्टर खोप पठाइएको छ।
स्वास्थ्य कार्यालयले खत्याड, सोरू र मुगुमकार्मारोङमा ६–६ भायल बुस्टर खोप पठाएको छ । माघ १५ गतेदेखि २० गतेसम्म जिल्लाभरिका सामुदायिक विद्यालयमा अध्ययनरत १० वर्षमाथि र १७ वर्षमुनिका किशोरकिशोरीलाई मोडर्ना खोप लगाउने अभियान पनि शुरू गरिएको कार्यालयले जनाएको छ। उक्त अभियानका निम्ति प्रत्येक सामुदायिक विद्यालयमा महिला स्वयंसेविका र अनमी परिचालन गरिने जिल्ला स्वास्थ्य व्यवस्थापक उमेश गौतम बताउनुहुन्छ। उहाँका अनुसार जिल्लामा अहिलेसम्म ८७ प्रतिशतलाई खोपको पहिलो मात्रा र ५२ प्रतिशतलाई दोस्रो मात्राको खोप दिइसकिएको छ। मुगुलाई पूर्ण खोपयुक्त जिल्ला बनाउन अभियान शुरु गरिएको समेत गौतमको कथन छ।
तेस्रो लहरको कोरोना महामारी फैलिँदा मुगुमा १० जनालाई कोरोना संक्रमण देखिएको छ। पोजिटिभ देखिएका होम आइसोलेसनमै बसेका छन्। जिल्ला अस्पतालमा दैनिक ३० देखि ४० जनाको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको छ। गत वर्ष जस्तो जिल्लामा कोरोना संक्रमितको संख्या नबढेको प्रशासक गौतमले भन्नुभयो । ‘पहिलेभन्दा स्थानीयलाई सजक र सचेत पनि बनाएका छौं’, उहाँ भननुहुन्छ– ‘सबैले मास्क र सेनिटाइजरको प्रयोग गर्न थालेका छन।’
जिल्लाका सबै सक्रिय संक्रमितको अवस्था सामान्य रहे पनि जिल्ला अस्पतालमा भेन्टिलेटर र आईसीयूको अभाव देखिएको छ। संक्रमितको अवस्था जटिल भए ६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। जिल्ला अस्पतालमा ७० बेडको आइसोलेसन तयारी अवस्थामा राखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। स्वास्थ्यकर्मीको सहयोगमा मुगुका सबै स्थानीय तहका बालबालिकामा पूर्णखोप दिइन लागेको जिल्ला अस्पतालका डाक्टर नहकुल शाहीको भनाइ छ ।











प्रतिक्रिया